- सम्पादकीय
नववर्षलाई हेर्ने आआफ्ना दृष्टिकोण छन् । यो नयाँ सालको पहिलो दिन हुँदा यसलाई पर्वका रूपमा लिइन्छ । यस पर्वलाई ज्योतिषीय दृष्टिकोणले निक्र्योल गर्ने परम्परा सबैभन्दा बलियो छ ।
ज्योतिषीय दृष्टिमा चान्द्रमानबाट हेर्दा चैत्र शुक्लप्रतिपदाका दिनदेखि नवर्ष मान्ने र सौरमानअनुसार सूर्य मेष राशिमा प्रवेश गर्ने प्रथम सूर्योदयलाई वर्षको पहिलो दिन मान्ने चलन छ । यही चलनअनुसार विक्रम संवत्को नववर्ष प्रचलनमा रहेको छ । ज्योतिषीय भाषामा शुक्लपक्षको प्रतिपदा (परेवा) देखि कृष्णपक्षको अमावास्या (औँसी) सम्मको अवधिलाई चान्द्रमान भनिन्छ । एउटा राशिमा सूर्य प्रवेश गरेको समय (सङ्क्रान्ति) देखि अर्को राशिमा सूर्य प्रवेश गरुन्जेल (अर्को सङ्क्रान्ति) सम्मको समयावधिलाई सौरमान भनिन्छ । यसै आधारमा चैत्र शुक्लप्रतिपदामा मेष राशिमा सूर्य प्रवेश गरेको दिन अर्थात् वैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मान्ने प्रचलन छ ।
ज्योतिषीय दृष्टिले काल गणना गर्दा अढाई–अढाई वर्षमा आइपर्ने अधिकमास (मलमास) का कारण यस गणनामा तलमाथि पर्छ । अधिकमासका साथै कहिलेकाहीँ तिथि क्षय पनि हुने हुँदा समय मिलाउँदा एकैदिन दुवै कुरा सधैँ एकैचोटि पर्दैनन् । सम्भवतः यही समस्यालाई चिर्नका लागि चान्द्रमान र सौरमानअनुसार गणना गरेर नववर्षको निर्धारण गरिएको हो । यो समय निर्धारण वैज्ञानिक र व्यवहारिक पनि छ
सबै विषय, विधा र क्षेत्रका मानिसलाई बुझिने भाषामा भन्दा पञ्चाङ्गमा हुने तिथि चान्द्रमानअनुसार र भित्तेपात्रामा लेखिने मिति सौरमानअनुसार गणना गरिएका हुन् । हामीले मनाउने तिथिअनुसारका चाडपर्व र जन्मतिथिहरू प्रत्येक वर्ष एकै मितिमा नपर्नुको मूल कारण पनि यही हो ।
२०७८ सालको नववर्षको पहिलो दिन बुधवार परेको छ । तिथिका दृष्टिले चैत्र शुक्लप्रतिपदा अघिल्लो दिन अर्थात् चैत्र ३१ गते परेको थियो । ज्योतिषीय दृष्टिले सूर्यले मेष राशिमा पनि त्यही दिन प्रवेश गरेको थियो । चान्द्र र सौर्य दुवै मानले एकै दिन परे पनि भोलिपल्टको दिनलाई नयाँवर्षको आरम्भ मानियो । सूर्योदय भएको समयमा जुन तिथि हुन्छ त्यसैलाई आधार मानेर दिन निर्धारण गर्ने प्रचलनअनुसार यस दिनलाई नववर्ष मानिएको हो । यस्तो कार्य ज्योतिषहरूले वृहत् र गहन छलफल गरेर मात्र निर्धारण गर्दछन् ।
नेपालमा विक्रम संवत्को प्रचलन रहे पनि यहाँ विभिन्न संवत् प्रचलनमा रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा उपलब्ध प्राचीन अभिलेखहरूमा धेरै संवत्हरू अङ्कन गरिएका छन् । इतिहासकार दिनेशराज पन्तका अनुसार ती विविध संवत्मध्ये कलिगत संवत्, विक्रम संवत्, शक संवत्, मानदेव संवत् र नेपाल संवत् प्रमुख हुन् । यी सबै संवत्को धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व परम्परादेखि रहिआएको छ । यी सबै संवत्मध्ये बढीभन्दा बढी प्रयोग भएको संवत् विक्रम संवत् नै हो ।
काठमाडौँ उपत्याकाका अभिलेखमा पाइएका संवत्लाई हेर्दा कलिगत संवत्को विक्रम संवत्सँग अन्तर ३,०४४ वर्ष र शक संवत्सँग ३,१७९ वर्ष अन्तर छ । विक्रम संवत् राजा विक्रमादित्य र मानवदेव संवत् राजा मानदेवको नामबाट नामकरण गरिएको मान्यता छ । नेपालको इतिहासमा चन्द्रशमशेर राणा प्रधानमन्त्री हुँदा नेपालमा विक्रम संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्न थालिएको मानिन्छ । हिजोआज ग्रेगोरीअन पात्रोअनुसारको इस्वी संवत् पनि नेपाली लेखनमा प्रचलनमा छ तर नेपालीले बढी प्रयोग गर्ने संवत् विक्रम संवत् नै हो ।
अभिलेखमा नपाइए पनि नेपालमा वैशाख १ र इस्वी संवत्अनुसारको जनवरी १ बाहेक अरू नयाँवर्ष पनि मनाइन्छ । वि. सं. ९३७ को मध्यान्तरदेखि नेपाल संवत् प्रारम्भ भएको देखिन्छ । कार्तिक शुक्ल प्रतिपदा तिथिका दिनदेखि यो संवत् फेरिन्छ । नेपाल संवत्को गणना चान्द्रमानअनुसार हुन्छ । काठमाडौँका नेवार समुदायमा यो संवत्को सांस्कृतिक महत्त्व रहेको छ । यो नेपालको राजधानीका मूल वासिन्दाको संवत् भए पनि सबै जातिले यसलाई संवत्का रूपमा प्रयोग गरेका छैनन् । ल्होसार नेपालमा हिमाली र पहाडी भेगमा वसोवास गर्ने जातजातिको साझा नयाँवर्ष हो । केही समुदायले पौष शुक्ल प्रतिपदामा तोला ल्होसार, तामाङ तथा अन्य समुदायले माघ शुक्लप्रतिपदामा सोनाम ल्होसार र शेर्पाहरूले फागुन शुक्लप्रतिपदामा ग्याल्पो ल्होसार नामबाट मनाउँछन । गुरुङ समुदायले पौष १५ गते मितिका आधारमा तमु ल्होसार मनाउँछन् । ल्होसारको परम्परा र यससँग सम्बन्धित प्रमाणहरू हेर्दा विभिन्न १२ जनावरको नाममा वर्गीकरण गरिएको छ । पहिलो वर्ष मुसादेखि सुरु हुँदै बाह्रौँ वर्ष सुँगुरमा सकिन्छ । अनि फेरि त्यही वर्षको र जनावरको चक्र दोहोरिन्छ । यस परम्पराले पशुपालन र कृषियुगबाट प्रारम्भ भएको संवत् हो भन्ने देखाउँछ ।
नेपाली समाजमा माघ एक र माघी पनि नववर्षकै रूपमा मनाइने पर्व हो किराँत समुदायले मान्ने गरेको येल संवत्को नयाँ वर्ष माघ एक गते पर्छ । माघे सङ्क्रान्तिका दिन तराईबासी थारू समुदायले पनि माघीका रूपमा नयाँ वर्ष मनाउँछन् । थारु समुदायमा संवत् गणना भने व्यवस्थित छैन् । उनीहरूले नववर्षका रूपमा भन्दा पनि यसलाई माघी पर्वका रूपमा विकास गरेको जस्तो लाग्छ ।यसको कारण संवत् गणना टुट्नु पनि हुन सक्छ ।
विश्व सन्दर्भमा वैशाख १ मा नयाँवर्ष मनाउने मुलुकहरू थुप्रै छन् । नेपाल, भारत, बाङ्ग्लादेश, श्रीलङ्का र दक्षिणपूर्वी एशियाका केही देशमा यही दिन नयाँ वर्ष मनाइन्छ ।भारतमा ब्रिटिस औपनिवेसका ग्रिगोरीअन पात्रो प्रचलनमा आयो । तर त्यस मुलुकका अधिकांश चाडपर्वहरू तिथिअनुसार मनाउने प्रचलन छ । भारतले राष्ट्रिय संवत्का रूपमा इस्वी संवत्लाई चलाए पनि त्यस मुलुकका केही प्रान्तमा वैशाख १ गते नयाँ वर्ष मनाइने गरेको छ । पञ्जाबमा बैशाखी, केरलामा विशु, असममा बिहु, तमिलनाडुमा पुठान्डु, उडिसामा पान सङ्क्रान्तिका साथै बङ्गाल र त्रिपुरामा पोइला बैशाखका रूपमा यस पर्वलाई मानिन्छ ।
अर्को छिमेकी देश बाङ्ग्लादेशमा पनि भारतको बङ्गालमा जस्तै “पोइला बैशाख“ अर्थात् पहिलो वैशाख भनेर नयाँवर्ष मनाइन्छ । बङ्गालीहरू एकआपसमा “शुभो नोबोबोरसो“ भनेर नववर्षको शुभकामना आदानप्रदान गर्छन् । अर्को छिमेकी देश श्रीलङ्कामा सिंहली नववर्षलाई अलुथ अवुरुदा भनेर मनाउँछन् ।
विश्व सन्दर्भमा थाईल्यान्डमा नयाँ वर्षलाई “सङ्क्रान“ पर्व भनिन्छ । नयाँवर्षको अघिल्लो र पछिल्लो दिनसहित तीन दिन उल्लासपूर्वक यो पर्व मनाइन्छ ।शब्द व्युत्पत्तिका दृष्टिले संक्रान्तिबाट “सङ्क्रान“ भनिएको जस्तो लाग्छ । बर्माको नववर्षलाई “थिङ्ग्यान“ जलोत्सव भनिन्छ । बर्मेली भाषामा थिङ्गयानको अर्थ फेर्नु भन्ने हुन्छ । स्तूपहरूमा भएका बुद्धका मूर्तिमा पानी चढाएर पखालेको पानी सेचन शरीरमा गरेर पवित्रताका साथ सुख समृद्धिको कामना गर्ने पर्वका रूपमा यसलाई लिइन्छ । लाओसमा वैशाख १, २, ३ गते गरी तीन दिन नववर्षको उत्सव मनाइन्छ । त्यहाँ नयाँ वर्षलाई “सङ्क्रान“ र “पी माय“ भन्दछन् । यसको अर्थ नयाँ सङ्क्रान्ति वा नयाँवर्ष भन्ने हो । त्यस्तै कम्बोडियामा नयाँ वर्षलाई “चौल छ्नाम थमाय“ भनिन्छ । यसको अर्थ नयाँ वर्षको प्रवेश भन्ने हुन्छ । कम्बोडियनहरूले पनि वैशाख १ गतेदेखि तीन दिनसम्म नववर्षको उत्सव मनाउँछन् । बरु नववर्षलाई जति उत्सवका रूपमा लिनुपर्ने त्यति हामीले लिन नसकेको जस्तो देखिन्छ ।
उक्त केही सर्वेक्षणबाट वैशाखमा नयाँवर्ष मनाउने परम्परा नेपालमा मात्र नभएर र विक्रम संवत्मा मात्र नभएर अन्य मुलुकमा र अन्य संवत्मा पनि रहेको देखिन्छ । यसलाई पूर्ण रूपमा हर्षोललासपूर्वक मनाउने जातिहरूको वैशाख १ गते साझा उत्सवको दिन हो । यही साझा उत्सवलाई साहित्यसागरले साझा पर्वका रूपमा मानी नववर्ष विशेष सामग्री प्रस्तुत गरेको छ ।
नववर्ष २०७८ का उपलक्ष्यमा साहित्यसागर इपत्रिका सम्पूर्ण लेखक, पाठक एवम् साहित्यानुरागी मित्र र शुभचिन्तकहरूमा नववर्षसम्बन्धी सामग्री र शुभकामनामूलक सामग्रीसहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ ।
-सम्पादक