नेपाली भाषासाहित्यका क्षेत्रमा पछिल्ला दिनमा विभिन्न पुरस्कार स्थापना भइरहेका छन् । भाषासाहित्यमा समर्पित व्यक्तित्वहरूले आफ्ना पितामाता, स्वजन र आफ्नै नाममा पुरस्कार स्थापना गरिरहेका छन् । यसले सचेत नागरिक, स्रष्टा र द्रष्टाहरू भाषाको विकास र स्थायित्वका पक्षमा छन् भन्ने देखिन्छ । कतिपय पुरस्कारहरू उद्देश्यअनुरूप चल्न नसकेर बन्दकै अवस्थामा पुगे पनि तिनका सञ्चालनमा खराब मानिस पुगेकाले केही विकृति आए पनि तिनको स्थापनाको उद्देश्य गहिरो र गम्भीर थियो भन्ने बिर्सनु हुँदैन ।
नेपाल राष्ट्रमाथि शिक्षा, राजनीति, व्यापार, वैदेसिक रोजगारी आदिका आधारमा भाषा-संस्कृतिमाथि आइरहेको आक्रमणप्रतिको सचेतता हो । यो जनस्तरबाट भएको सचेत र सालीन राष्ट्रसेवा हो । राष्ट्रका अङ्गहरूले राखेका पुरस्कारको वितरण प्रणालीभन्दा व्यक्तिगत रूपमा स्थापित पुरस्कारले सही प्रतिभा चयन गरिरहेको अवस्था अझ प्रवल छ । यस अभियानमा रहेका केही कमजोरीहरूलाई निराकरण गर्दै यसको अन्तर्यमा रहेको राष्ट्रसेवा, राष्ट्रभाषाको सेवाका माध्यमबाट विकसित राष्ट्रसेवा हो । यस पक्षलाई राज्यले अन्य नाफामूलक संस्था दर्ता गर्दाका झन्झटभन्दा फरक ढङ्गले दर्ता र सञ्चालन गर्ने नीति बनाउनु पर्ने देखिन्छ । मदन पुरस्कारदेखि आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र साहित्य संबर्द्धन केन्द्रले स्थापना गरेका दर्जनौ पुरस्कारको अन्तर्य भाषा वाङ्मयको संरक्षणका माध्यमबाट गरिएको राष्ट्रसेवा नै हो । बरु कामना गरूँ यस्तो पवित्र उद्देश्यले स्थापना गरिएका पुरस्कार वितरणमा गम्भीर ध्यान पुर्याइयोस् । यसका सञ्चालकहरूले पनि संस्थापकको अन्तर्य नबिर्सून् । पुरस्कार थाप्ने पात्रहरूले पनि तिनका संस्थापकको अन्तर्य नबिर्सून् ।
विश्व सन्दर्भमा हेर्दा अङ्ग्रेजी भाषाको विकास सिर्जनाबाट मात्र भएको छैन; त्यस भाषालाई अन्तर्राष्ट्रिय भाषाको मान्यता दिएकाले मात्र त्यसको विकास भएको छैन । त्यस भाषामा लेखिएका, अनुवाद भएका, भिन्न भिन्न विधाका कृतिहरू पुरस्कृत भएकैले र त्यस भाषामा काम गर्ने मानिस पुरस्कृत र सममानित भएकैले त्यो भाषा र त्यसमा लेखिएको साहित्य विश्वप्रसिद्ध बनिरहेको छ । यो अवस्था अन्य समुन्नत साहित्य रहेका भाषाहरूमा पनि जीवन्त छ । चिनियाँ र रुसी भाषासाहित्यका लागि राज्यस्तरबाट भएका प्रयास अन्य भाषा साहित्यका तुलनामा उल्लेख्य छन् ।
हामीले हाम्रो भाषा र यसको साहित्यलाई सम्मानित बनाउन निरन्तर यसका स्रष्टा र यसको सिर्जन सामर्थ्यको सम्मान गर्न आवश्यक छ । अझ कृतिपरक, विधापरक, व्यक्तित्वपरक, अनुसन्धानपरक पुरस्कार र मूलतः विद्वत्वृत्तिहरूको स्थापना गरी यसको विकासमा टेवा पुर्याउन आवश्यक छ । यसका लागि अग्रजले आरम्भ गरेको भाषासाहित्य संरक्षणको अभियानप्रति अबको पुस्ता पनि सचेत हुनुपर्ने अवस्था छ ।
-सम्पादक