विपिन अगस्ती (वेदप्रसाद ढुङ्गेल) को परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी अङ्ग्रेजी र नेपाली साहित्यमा उच्च शिक्षा लिई निरन्तर साहित्य सिर्जनामै समर्पित प्रतिभा हुन् । यहाँ उनको एउटा जगल सिर्जना समेटिएको छ । यसले मानव व्यवहार र समाजमा बढिरहेको विसङ्गतिलाई गजलका माध्यमबाट अभिव्यक्त गरेका छन् ।सम्पा. |
अन्यायको पनि त हद हुन्छ, सीमा हुन्छ;
मान्छे यहाँ भोकै मर्छ तर पशु बिमा हुन्छ !
पीडा चित्कार पुकार सुन्ने कोही छैन अझै ;
पहुँच हुनेका लागि यहाँ जे पनि फ्रि मा हुन्छ !
धेरैले खोजेका हुन् यो बेथिति मास्नलाई ;
शुरू प्रहार तेज हुन्छ अनि आफैं धीमा हुन्छ !
विद्या इमान र गुणको कदर हुन्न कसै यहाँ ;
धनको र बलको पो इज्जत र गरिमा हुन्छ ।
एक्लो वृहस्पति सधैं झुठो हुन्छ पहिल्यैदेखि ;
यो कलि युग यस्तै हो,रावणकै महिमा हुन्छ ।
२०७४।११।२४
फिक्कल, इलाम