पिताजीले बादल फट्याएर सोधे, “बाबु ! तिमी अझै नाङ्गो छौ नि । के भयो ?” मरिसकेका पिताजी आएर प्रश्न सोध्दा सुरुमा डराएँ । डराए पनि आफ्नै पिता हुन् भनी मैले जवाफ दिएँ, “पिताजी, तपाईँले सुरुमा दिनुभएको कोट लगाउँदा ह्वाङलाङ्ग भयो । मागेर ल्याएको भन्लान् भनी सूचीकारकोमा लगेर मिलाएँ ।”
“अनि किन त्यो नलगाएको त ?”, पिताजीले सोधे । “सूचीकारले कसिने बनाइदिएछन् । बडो मुस्किलले लगाएको थिएँ तर त्यो फाट्यो ।”
“ठिकै छ । त्यो त मैले मागेर नै ल्याएको थिएँ । अनि दोस्रो कोटचाहिँ के गर्यौ त ? त्यो त मैले मेरै परिश्रमले हालिदिएको थिएँ ।”, पिताजीले फेरि सोधे ।
दोस्रो कोटको एक ठाउँमा पुरानो दाग थियो । तैपनि लगाएर हिँडेको थिएँ । आजको जमानामा पनि पुरानो मोडलको कोट लगाउने हो भन्दै सबैले विरोध गरे । होला नि भनेर त्यसलाई त आफ्नै हातले च्यातचुत पारेर मिल्काइदिएँ ।”
“अनि तेस्रो कोट त तिमी आफैले बनाएको होइन र ?”, पिताजीले फेरि प्रश्न गरे ।
जवाफमा मैले भनेँ, “हो पिताजी, तर त्यो कोटको गलादेखि तलसम्म प्वालैप्वाल छ । त्यो कोटमा छुचुन्द्रोले घर बनाएको छ । त्यसैमा छुचुन्द्रोले पिसाप पनि फेरेछ । त्यसैले कोट मैले लगाउनै सकिनँ । अहिले म नाङ्गो भएको छु ।