हाँस्छन् शैल, मनुष्य पल्लवित छन्, बोल्छन् शिलागौरव
इन्द्रेनीमय जात, धर्म, थरले छर्छन् सुधा सौरभ
यस्तो सृष्टिकला अमूल्यनिधिको बोकी महासागर
थोपो खोज्न कतै म जान्नँ जननी आएँ म आएँ अब
मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर
रोदी, मादल, धाननाच, जितिया बन्धुत्वका रक्षक
गाऔं गान ‘सयौं थुँगा…’ सँगसँगै आमा म आएँ अब
टोपी, बक्खु तयार छन्, सडकमा नांगा नरोउन् कतै
किंकर्तव्यविमूढ बन्न नपरोस् भोकाहरूले अझै
यार्चागुम्बु, चिराइतो कलुषता निर्मूल पार्दै सब
बाँच्ने विश्व बचाउने रहरले आऊ, म आएँ अब
मेरा पाउ समृद्ध छन्, शिर उँचो, छाती खुला निर्मल
सीमामा बलभद्रका कलमले गर्दैछु हस्ताक्षर
साझा लक्ष्य विकासको मुलुकमा मेची र कालीसँग
नौलाद्वार सुशान्तिका, प्रगतिका खोलेर आएँ अब
बोकीमाथ म विश्वसाथ नउठे के काम यो शैलको
कोसीझैं अविश्रान्त बग्न नसके के अर्थ यो सैरको
मेरा शैलशिखा, सुरम्य सरिता साँचेर राखूँ सब
आफ्नै आँगनमा निचोर्न पसिना आमा म आएँ अब
(नेपाल प्रज्ञा-प्रतिष्ठानको ६४औं वार्षिकोत्सवका अवसरमा आयोजित भर्चुअल राष्ट्रिय कविता महोत्सव २०७८ मा तृतीय भएको कविता । यस कविताकी सर्जक ताप्लेजुङकी सविता बराल हुन् ।)