भरतकुमार भट्टराई (२०१६, कार्तिक २२, फुङलिङ ३, ताप्लेजुङ, सुपुत्र : यमनाथ भट्टराई र भीमादेवी भट्टराई) नेपाली साहित्यका सर्जक एवम् समीक्षक प्रतिभा हुन् । उनी भाषाविज्ञानका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय अन्वेषक व्यक्तित्व हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराईका हास्यव्यङ्ग्य सिद्धान्त (२०५७) का साथै दर्जनौँ पाठ्यपुस्तक प्रकाशित छन् । उनी कविता, गीत र मुक्तक सिर्जनामा पनि त्यत्तिकै सक्रिय छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘आमाको याद’ शीर्षकको कविता समेटिएको छ । लोकलयमा संरचित यस कविताले आमाको स्मृति गरेको छ ।
– सम्पा. |
आमा तिमीलाई सम्झेर आज धेरै नै दु:खी छु
रोगले छुँदा तिमी साथ नहुँदा आत्तिई रुँदो छु
बाछाले माउ खोजेर छिनछिन कराए जसरी
छटपट छटपट अति नै छाती चिरिन्छ चरचरी ।
अपार माया स्नेहको छाया पाउँथेँ म लपक्कै
शीतल छाती भिजाउँथ्यो मन बन्थेँ म धपक्कै
निराश उराठ बनेको बेला म पाउँथेँ वीरकै धून
फराक छाती पारेर भिड्थेँ नकार्दै बोझिलपन ।
आमा नै रहिछन् संसारभरिकै अनमोल गहना
हरेक पलका जननीरसले भरिदिन्छिन् चाहना
आमा हुन् गीत आमा हुन् जित आमा हुन् सर्वस्व
आमाको दिल विश्वकै महफिल आमा हुन् शिवत्व ।
आमाको प्यार अमृत बनी पिलाउँछ आहारा
सन्ताननिम्ति बलिदान हुने हरपलकी सहारा
आँखामा सदा सन्तानको माया भइदिने झलल
सन्तानको दु:ख देखेमा आँसु झरिहाल्ने भलल ।