भूपि शेरचन (२०९२–२०४६) नेपाली साहित्यका विशिष्ट कवि प्रतिभा हुन् । उनको जन्म १९९२ साल ज्येष्ठ १ गतेका दिनमा मुस्ताङको कटुकुचेमा.. हितमान शेरचन र पद्मकुमारी शेरचनका सुपुत्रका रूपमा भएको थियो । यिनले औपचारिक रूपमा वी. ए. सम्मको अध्ययन गरेका थिए । यिनी साहित्यका साथै राजनीतिमा निकै चासो राख्ने र समर्पित व्यक्ति थिए । वि. सं. २०१२ मा यिनी नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटी सचिव भएका थिए । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य (२०३६) समेत भएका शेरचनका नयाँ झ्याउरे (२०१०), निझर (२०१५) र घुम्ने मेचमाथि अन्धो मान्छे (२०२५) जस्ता तीन वटा कवितासङ्ग्रह प्रकाशित छन् । उनी प्रभावशाली कविता रचनाकै कारण साझा पुरस्कार (२०२६) र गोरखा दक्षिणबाहु दोस्रो (२०४२) जस्ता पुरस्कार र पदकबाट सम्मानित भएका थिए । यिनी थोरै कविता लेखेर विशिष्ट ख्याति प्राप्त गर्ने थोरै कविप्रतिभामध्ये एक हन् । यिनको मृत्यु वि. सं. २०४६ मा भएको हो । भूपी शेरचन आधुनिक कालका कविहरूअध्ये गद्यशैलीमै सम्प्रेष्य कविता सिर्जना गर्ने सशक्त स्वच्छन्दतावादी–प्रगतिवादी कविका रूपा परिचित छन् । उनका कवितामा गरिब, शोषित र पीडितका पक्षको पक्षपोषणका साथै स्वच्छन्दतावादी विविधता र प्रगतिवादी सञ्चेतना पनि संयोजित छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘असार’ शीर्षकको कविता समेटिएको । गत महिना उनको जन्म महिनामा नेपाली साहित्यकारहरूको निधन र केके कारणले उनलाई प्रस्तुत गर्न नपाएकामा यसपटक उनको स्मरण पनि गर्दै असार कविता प्रस्तुत गरिएको छ ।
– सम्पा. |
दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरे झैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तीभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बुटको आवाजले
आकाश घन्काउँदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार ।