राजु पाठक (२०२८, माघ २८, कोलकता, भारत, सुपुत्र : नन्दकुमारी पाठक र दुर्गाप्रसाद पाठक) भारतमा रहेर नेपाली साहित्यको सेवा गरिरहेका प्रतिभा हुन् । उनको जन्मस्थान नेपालको पाल्पा रामपुर १ हो । उनी अहिले भारतीय भूमि कोलकतामै जागिरे जीवन बिताइरहेका छन् । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च‚ कोलकताका अध्यक्षका साथै अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय सचिवका रूपमा रहेर नेपाली जाति र नेपाली भाषा साहित्यको सेवा गरिरहेका छन् । उनका एक्लै बस्दा (सन् २०१७ ) र बसिबियाँलो (सन् २०२०) जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन् । उनले सम्झना साहित्यिक पत्रिका (कोलकताबाट प्रकाशित) को कार्यकारी सम्पादक, र मौलो‚ बिहानी साहित्यिक पत्रिका र नेपाली संगम साहित्यिक पुस्तकको सहयोगी सम्पादकका रूपमा रहेर सम्पादन गरेका छन् । उनका नेपाल र भारतबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकाहरूमा फुटकर लेख‚ कविता‚ कथा आदि प्रकाशित छन् । उनले केही नेपालीबाट हिन्दीमा कविता, कथा एवम् लेखहरू अनुवाद पनि गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा पाठकको ‘हामी मान्छे’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मानिसका अयोग्यताको पर्दाफास गरेको छ ।
सम्पा. |
हामी मान्छे
कोही कस्ता कस्ता
कोही कस्ता कस्ता
न रूप मिल्ने न सार
न अनुहार मिल्ने न विचार
एकअर्का भन्दा पृथक
फेरि पनि मिलेर बस्न बाध्य मान्छे ।
हामी मान्छे
चेतनशील प्राणी
चेतना पनि फरक
कसैको कस्तो चेतना
कसैको कस्तो चेतना
चेतनाको गर्भ एउटै
तर जन्मने फरक
वास्तविकता अलग त सम्झने अलग
आफ्नो बिना अरू सोच्दै नसोच्ने मान्छे
हामी मान्छे
कोही गरीब, कोही धनी
कोही हाँस्ने त कोही रुनी
न जन्मँदा ल्याउने न मर्दा लैजाने
फेरि पनि मेरो मेरो भन्दै कराउने ।
हामी मान्छे
कोही हिन्दु, सिख, कोही बुद्धिष्ट हुनु पर्ने
कसैलाई मुस्लिम त कसैलाई इसाई हुनुपर्ने
न धर्म मिल्ने न भगवान्
कसैले पुज्ने गौमाता भनेर
कसैले मारेर खाने
कसैले छुनै नहुने सुँगुर
कसैलाई खाने मीठो मानेर
कसैले प्राणीको बली चढाउने धर्मको लागि
त कसैले प्राण हत्या पाप हुन्छ भन्ने
फेरि पनि एउटै धर्तीमा जीउन विवश मान्छे
हामी फरक भएर पनि एकै मान्छे
हामी मान्छे ।