नारायण नेपाल सफल कवि, गीतकार एवम् गजलकार प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘बिहे गर्न ढिलो भयो !’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मान्छेको यसोत्यसो गर्दागर्दै विवाह गर्न ढिला भएको पक्षलाई व्यङ्ग्यात्मक पारामा देखाएको छ ।
– सम्पा. |
कसैको हुन वा कोही आफ्नो दर्न ढिलो भयो !
कसरी कसरी, साथी, बिहे गर्न ढिलो भयो !!
गाईवस्तु चराएको को कतिसँग के गनूँ,
मेलापात गरेकै हो कहाँ के कसरी भनूँ !
समाई जाङ्गिया पैले कुदी–बाजी नि चल्दथ्यो,
कसैका साथ चल्दामा स्वयम् मुहार बल्दथ्यो !
ढुकुमुकु र सिन्कौली, फिर्फिरे, फुकुना… कति,
छोइ–डम्प र ढ्याप्पामा अझै म भेट्छु सङ्गति ।
बाघ–चाल र चङ्गा त्यो गिर्गिट्टी, सुरुली, अनि,
पारी बगरमा रम्दा बाढीमा थुनियो पनि !
सकी इस्कुलको शिक्षा क्याम्पसतिर लागियो…
सर्वस्वतन्त्रझैँ ठानी अनावस्यक जागियो !
खेल्दै उमेरका गोटी खोला तर्न ढिलो भयो,
कसरी कसरी, साथी, बिहे गर्न ढिलो भयो !
गरियो मित्रता रम्य चलचित्रे भयो मति,
काखी च्यापेर त्यो वैँश काँढा न फूलको गति !
चाँजो मिलाउने बेग्लै धाक रवाफ गर्दथे,
मारौँ न ट्राइ त्यो भन्दा अनेकन् घात पर्दथे !
परियो जिल्ल हेरेर जोडाजोडी बजारका…
बनेन काम त्यो किन्तु चले नोट हजारका !
हो कि जौडे जवानीको जादु छर्न ढिलो भयो?
कसरी कसरी, साथी, बिहे गर्न ढिलो भयो !!
पछि लाग्ने थिइन् कोही भेट्यो कि गीत गाउँथिन्,
‘कोही नहुनुभन्दा त तिमी छौ…’ भन्न भ्याउँथिन् !
पसी लुसुक्क कोठामा झाडु लगाउँथिन् …अझै,
बिस्तरा सेटमा राखी भान्सा सघाउँथिन्, कठै !
नाडी छामेर बस्नेका सोच पैरो गयो भने,
के गरी साथ त्यो चल्ला तलमाथि भयो भने !
मेरो सोच थियो कम् वा उनी बढ्ता हुँदैथिइन्,
मसँग नखुली पूरा आफन्त पो छुँदैथिइन् !
कति सम्झाउँदै भन्थे साथी जीवनको हओस्
जो छाओस् सहयोगी भै दिलदिमागमा रहोस् !
लाग्छ निस्वार्थ मायामा लागिपर्न ढिलो भयो,
कसरी कसरी, साथी, बिहे गर्न ढिलो भयो !!
मनमा बस्छ त्यो मान्छे ढुक्ढुकी जो समाउँछ
धेरै नछान है, बाबु, छान्नेले दु:ख पाउँछ !
अजासु बख्खु छिट् भन्थे सिम्फनै पनि खद्दर
यो भने त्यो भने प्याच्पुच् भन्नेका मुख सद्दर !
आफ्नो व्यथा छ अर्कै त्यो मन संसय मान्छ नि !
लिपुलेकसरी मेरो माया पराई मोह तान्छ कि !?
निम्सरो कदको झोला शक्ति भर्न ढिलो भयो
कसरी कसरी, साथी, बिहे गर्न ढिलो भयो !!
बनी टिचर हेर्दामा कोपिलै फूल देखियो,
फूलमा भमरा देख्दा कवि भै गीत लेखियो !
भइयो टेलरै काहीँ नापियो लाली–जोबन,
बन्दा डाक्टर लौ फेरि छोएरै दङ्ग यो मन !
चमेना चट्पटे बेचेँ साटेँ मुस्कान फाउमा,
जसरी मछुवारा ती बस्थे हेरेर दाउमा !
कहिले म हिँडेँ जोगी फेरी लाएर बाँसको,
घामबाटै छ जो लुप्त जून के देख्ला खास त्यो !?
यो गर्दा अनि त्यो गर्दा प्रेम धर्न ढिलो भयो,
कसरी कसरी, साथी, बिहे गर्न ढिलो भयो !