मीरा प्रसाईं नवोदित लेखिका हुन् । उनी बेलायतमा रहेर नेपाली भषाको सेवा गरिरहेकी छन् । गैँडाकोट, नवलपरासी नेपालको ठेठाना रहेकी प्रसाईं अहिले लिङ्कसायर, बेलायतमा बसोबास गर्छिन् । उनको कलम कविता, लघुकथा, कथा, सामयिक लेखमा चलिरहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘डायस्पोरिक घाउ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले विदेसिएका नेपालीहरूका समस्याका बहुमुखी पाटालाई समेटेको छ ।
-सम्पा. |
आमा,
दूर क्षितिजबाट सेवाढोग !
परेवाको खुट्टामा बाँधेर
तिमीले पठाएको चिठी पढेँ मैले,
मुहारै देखिने गरी बोल्न पाइने यो जमानामा
पन्क्षीसित खबर पठाउनुको तात्पर्य बुझेको छु मैले ।
आमा,
सायद चरा हुन नसकैरै मानिसलाई ‘मानिस’ भनिएको होला !
मानिस हुन नसकेकै भएर चरालाई पनि ‘चरा’ गनिएको होला !
म त्यो परेवा हुँदो हुँ त—
माकमाक घुर्र…घुर्र… गर्दै
बेलैमा बेफिक्री उडेर तिम्रो न्यानो गुँडमा पुगिसक्थेँ !
म त्यो पन्क्षी हुँदो हुँ त
कावा खाँदै आकाशमा उडिरहेको हुन्थेँ
धेरै प्रश्न गर्नु पनि पर्दैन थियो बाले
जस्तै—
आफ्नो डिग्री किन्न करेसाबारी नै
किन बन्धकी राख्नुपर्यो मैले
योग्यता नाङ्लामा फिँजारेर जिन्दगी उकास्न
किन म्याराथन गर्नुपर्यो मलाई
लोकसेवामा नाउँ निकालेर पनि
अधिकारबाट किन मेटिनुपर्यो मेरो अस्तित्व
केही नलागेपछि धितोमा घर राखेर
किन देशको विकल्प सोच्दै उड्नुपर्यो सपनामा
हो नि आमा,
जिन्दगी रङ्गीन भावुकतामा होइन
श्यामश्वेत यथार्थमा चल्ने रहेछ !
म चरा हुन सकिनँ आमा,
चाहेको बेला भुरुर्र उडेर गन्तव्य छिचोल्न सक्ने !
पर…देश जानु भनेको आफ्नो देशदेखि पर… हुनु होइन
अर्कैको जमिन टेक्नु भनेको यो संसारमै नरहनु नै त होइन
पराईको आकाश ओढ्नु भनेको
बिरानो धर्तीको पाइताला बन्नु पनि होइन
जसरी—
नजिक हुनु भनेको मनको निकट नै हुनु होइन
टाढा हुनु भनेको आस्थाबाट दूरस्थ हुनु पनि होइन ।
धेरै गर्नु छ आमा तिम्रो छोराले,
बाको निहुरेको शिर उठाएर
वर्षाले वर्सिएर धाँजा फाटेका गैरीखेतजस्ता
बाका कुर्कुच्चामा लगाइदिनु छ गोल्डस्टार जुत्ता
तिम्रो च्यातिएको चौबन्दी छोप्न
ओढाउनु छ स्वाभिमानको बाक्लो बर्को
तिम्रो कोखको नाम राख्नु छ
त्यो आस्थाको छानो र आकाङ्क्षाको मानो बचाउनु छ
स्नेही माटोको भार तिर्नु बाँकी नै छ
यी यावत् कुराको बोध नभएको कहाँ हो र आमा !
सम्झिन्छु म आफू जोडिएको जमिन
उचालिएको त्यो शून्य आकाश
स्वास फेरेको पवित्र पवन
सङ्घर्षले प्रवाहित पानी
सबसब भोगाइका आफ्नापनहरू
दुखिरहन्छन् बारम्बार डायस्पोरिक घाउ बनेर
मनका यी साँघुरा च्याम्बरहरूमा !
भन्नेहरू त भन्छन्—
“बिरानीमा हराउनेलाई के हुनु देशको माया !”
के प्रदर्शन गर्ने वस्तु हो र माया ?
हामीले पठाएको पसिनाको रेमिट्यान्स के हो त ?
मातृभूमि रुँदा झरेको हाम्रो आँसुमा मायाको भाव हुँदैन ?
दु:ख पर्दा स्नेहको मल्हम लगाउनु माया होइन ?
माटोको धुनमा लालायित हुनु,
चाडपर्वका लहरमा जोडिँदै आनन्दित हुनु,
झझल्कोमा आफ्नै भञ्ज्याङ चौतारी आइरहनु,
हृदयमा कन्दराका गीत गुन्जिरहनु,
खोलामा सपना कलकलाइरहनु,
यसरी धड्किरहनु आस्थाको ढुकढुकी छातीमा
के यी सब मायाका पर्याय होइनन् ?
आमा !
जसरी तिमीले पठाएको परेवा
वेग हान्दै आफ्नै घरको धुरीमा गरेको छ अवतरण
त्यसै गरी एक दिन तिम्रो छोरो पनि
यो आकाशबाट उडेर पुग्ने छ हिमाल छिचोलेर आफ्नै घर
अनि ओर्लने छ गुराँस फुलिरहेको त्यही आँगनमा,
बन्ने छ लर्खराएका ती चार पाउमा
अडिलो बेतको लौरो !
महत्त्वाकाङ्क्षाको मोहले होइन आमा,
बाध्यताको डोरीले बाँधिएका छन् अहिले मेरा पाउहरू !
ममतालाई गाँठो पारेर राख तिम्रो सप्कोमा
भुल्दैन छोराले कहिल्यै त्यो ठेगाना,
जहाँबाट शाश्वत जिन्दगीको चहक र महक फैलिरहन्छ