केदार न्यौपाने (२००६ मंसिर १८, गोगने–भोजपुर, सुपुत्र : गणेशप्रसाद–उमादेवी न्यौपाने) नेपाली साहित्य र शिक्षा सेवामा समर्पित प्रतिभा हुन् । २०१७ सालमा मनोरञ्जन हस्तलिखित पत्रिकामा ‘खोलाको भूत’ शीर्षकको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका न्यौपानेका समीक्षा सुमन (२०६२), चिरन्तन (२०६५), सपना देख्नेहरूलाई (२०६५), हिउँको छायामुनि (२०६५) जस्ता कवितासंग्रहका साथै ट्याम्के (२०७५), आलोकयात्रा (२०७६) काव्यकृति प्रकाशित छन् । न्यौपानेका सम्पादन र लेखनमा अन्य विविध कृतिहरू संयुक्त रूपमा प्रकाशित छन् । उनी शास्त्रीयलयढाँचा गीतिलयढाँचा र मुक्त लयढाँचाका कविता सिर्जनामा सिद्धहस्त प्रतिभा हुन् । उनका कवितामा देशभक्ति र मानवता केन्द्रमा रहेको हुन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा न्यौपानेको ‘सम्झी नरौ गोगने’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा आफ्नो जन्मभूमि गोगनेलाई विषय र विम्ब बनाई मातृभूमि र देशभक्तिको अभिव्यक्ति दिइएको छ ।-सम्पा. |
तिम्रो उर्वर भावमा अमर भै फक्रन्छ विश्वासमा
आस्थाको शुषमा सुरम्य गतिले झल्कन्छ संसारमा
उम्रेको उपयुक्त स्वस्थ सपना भर्ने निको चाहले
लाग्दैछन् मन दुख्छ भो अव नरौ संझी सधैँ गोगने
मेरै स्नेह सुसारले अगिबढी बाटो समात्ने किन
फर्कन्नन् अझसम्म खै कति कुरौ लागे कि के बिर्सन
भन्ने सोच लिएर संकित भई विच्छेदका तापले
तड्पिन्छ्यौ अझ छुट्टिदैन ममता संझी नरौ गोगने
निर्मोही पनि हैन भो विषमता सन्त्रास चर्को डर
आयो संकट कामकाज हरिए के मा हुने निर्भर
भन्छन् यो अनुभूति भित्र पनि छन् आशा निराशा धुने
फर्कन्छन् दिन स्वच्छ पुष्पित नयाँ संझी नरौ गोगने
पाई स्वादित अन्नपात जलको आश्वादले पोषित
पुर्खाकै पलदेखि दैनिक हुने सद्भाव सम्प्रेसित
खुल्दा भौतिक चाहका नयनले पाएन आभा भने
आफै बल्दछ चेतनाङ्कित चुलो संझी नरौ गोगने
तिम्रो आसिकका लता लहरिदै फक्री सुगन्धी भए
तिम्रै इज्जत बढ्छ विश्वभरमा सन्तान सप्री रहे
राम्रो उन्नतिबाट गौरव बढोस् अग्लो चुलीमा छुने
टाढा नै पनि किर्तिले निकट होस् संझी नरौ गोगने
तिम्रो श्वास सुगन्धमा छ जसको माया भरोसा सब
तिम्रा अन्तरमा छ निर्मलकला विश्वास आस्था लव
टाढा हुन्न यथार्थमा हृदयको संचार जागा भए
जोडिन्छन् अनुकूल भै चहकमा बत्ती नरौ गोगने



केदार न्यौपाने (२००६ मंसिर १८, गोगने–भोजपुर, सुपुत्र : गणेशप्रसाद–उमादेवी न्यौपाने) नेपाली साहित्य र शिक्षा सेवामा समर्पित प्रतिभा हुन् । २०१७ सालमा मनोरञ्जन हस्तलिखित पत्रिकामा ‘खोलाको भूत’ शीर्षकको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका न्यौपानेका समीक्षा सुमन (२०६२), चिरन्तन (२०६५), सपना देख्नेहरूलाई (२०६५), हिउँको छायामुनि (२०६५) जस्ता कवितासंग्रहका साथै ट्याम्के (२०७५), आलोकयात्रा (२०७६) काव्यकृति प्रकाशित छन् । न्यौपानेका सम्पादन र लेखनमा अन्य विविध कृतिहरू संयुक्त रूपमा प्रकाशित छन् । उनी शास्त्रीयलयढाँचा गीतिलयढाँचा र मुक्त लयढाँचाका कविता सिर्जनामा सिद्धहस्त प्रतिभा हुन् । उनका कवितामा देशभक्ति र मानवता केन्द्रमा रहेको हुन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा न्यौपानेको ‘सम्झी नरौ गोगने’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा आफ्नो जन्मभूमि गोगनेलाई विषय र विम्ब बनाई मातृभूमि र देशभक्तिको अभिव्यक्ति दिइएको छ ।-सम्पा.