मधुमाधुर्य समकालीन पुस्ताका उल्लेख्य कवि प्रतिभा हुन् । उनको ‘नयाँ पात्रकोको सूक्ष्म कथा’ शीर्षकको प्रस्तुत शृङ्खलामा समेटिएको कविताले नयाँ पात्रोलाई हेर्ने दृष्टिकोण व्यक्तिपिच्छे फरक पर्ने पक्ष उद्घाटन गरेको छ । यस कविताले विविध पात्रलाई उभ्याएर विम्बात्मक रूपमा पात्रो र जीवनका योजनाको उल्लेख गरेको छ ।
-सम्पा. |
तान्त्रिक गुभाजुले एउटी कन्याको हत्केलामा
बिगुती घसेर
भूत, भविष्य र वर्तमान हेर्न मिल्ने ‘डिस्प्ले’ देखाएपछि
समय र स्पेसका दोभानहरूमा
केही दृश्यहरू चल्मलाउन थालेः
नदेखिने समय
कैद छ घडीमा
झिनो सुईसँगै फनफनी घुमिरहेछ
समयको बिस्कुनलाई
महिना, हप्ता र दिनहरूमा फिँजाएर
भित्तामा टाङ्गिएको छ पात्रो !
अँगालोभरि अट्ने केही थान पात्रो
बिक्रीको लागि उहिलेको रत्नपार्क लगेर भट्याउँछु म :
‘लौ आयो नयाँवर्ष, नयाँ वर्षको पात्रो । !’
‘लौ आयो नयाँ वर्ष, नयाँ वर्षको पात्रो । !’
फटाहा–फटाहाजस्तै देखिने
अर्थात् नेताजस्तो पहिलो ग्राहकले
बाह्रै महिनाको दिनहरू गन्यो
र उज्यालो मुद्रामा एकिन गर्न खोज्दै गुन्गुनायो ः
“भाइ, ठ्याक्कै ३६५ दिन रैछ यो साल नि । “
मानौँ –३६५ दिन
चोरी डकैतीको लागि
देश लुट्नका लागि / बेच्नकालागि
खुल्ला छ / प्रयाप्त छ !
दोश्रो ग्राहक
ऊ कि त विद्यार्थी हुनुपर्छ कि त कर्मचारी
वर्षमा कति दिन विदाहरू थिए
औँला भाँची– भाँची गन्दै थियो
तेश्रो ग्राहक
कर्मकाण्डको ज्ञाताजस्तो थियो
एकादशी, मलमास, पूर्णे ।
संक्रान्ति र तिथिहरूमा आँखा दौडाइरहेको थियो
थरीथरीका थिए ग्राहकहरू :
विशेष दिन र घटना सम्झेर आँसु झारिरहेका
कोही विधवाजस्तै थिए
कोही आशावादी
विदेश जान कस्सिएका जवान
वा लगनगाँठोमा बाँधिन लागेका
प्रत्यासीहरूजस्तै थिए
नबिकेको एउटा पात्रोको अन्तिम ग्राहक म आफै थिएँ
क्यालेन्डरलाई भित्तामा झुन्ड्याएँ
मैले क्यालेन्डर हेरेँ–
वर्षेनी झन् झन् तरुनोझैँ देखिने गरी त्यो टल्किरहेछ
क्यालेन्डरले मलाई पनि हेर्यो, झस्क्यो, तस्र्यो र चिनेन :
ऐनामा हेर्दै जाँदा
आफ्नो अनुहार, रूप र रंग नै पृथक बनिसकेको रहेछ !
कति कति पात्रो फेरिसकेँ
पात्रोसँगै कति कति ब्यवस्था फेरिसकेँ
कति कति शासक फेरिसकेँ
माटोको रूप–रङ उस्तै छ
देशको कथा–व्यथा उस्तै छ
सदाबहार भन्नु त
यथास्थितिवाद मात्रै रहेछ :
मेरो गाउँ–बस्तीको
मेरो शहरको
मेरो देशको !
भित्तामा पात्रो
नयाँवर्षको मौन गीत गाइरहेछ
घडीको सुई टिकटिक नाचिरहेछ !
एकै क्षणमा
एउटा शक्तिशाली हुरी पस्यो झ्यालबाट
मेरो पात्रो उडाएर लग्यो कतै
पात्रोमा विज्ञापन गरिएको नयाँवर्ष चाहिँ कता उड्यो थाह भएन
कन्याको हत्केला“डिस्प्ले“ मा केही दशकपछिको साल देखियो
झरिलो सुन्तालाजस्तो न्यानो घाम देखियो ।
हर्ष–रसमा उन्मुक्तिको
एउटा सुमधुर धून सुनियो ।
परेवाहरू उडिरहेका थिए
र “डिस्प्ले“ बन्द भयो
लामो सुस्केरा तानेर गुभाजुले साउती गर्नुभयो :
‘सुन्यौ, त्यो तिम्रै स्वर थियो !’
त्यो तिम्रै स्वर थियो !