राजेन्द्रप्रसाद अर्याल विदेशमा रहेर पनि नेपाली भषा साहित्यलाई सिर्जना संगठनसमेतबाट माया गर्ने व्यक्तित्व हुन् । उनको जन्म नेपालको गोरखा बजारमा भएको थियो । हाल उनी म्याडिसन अमेरिकामा बसोबास गर्दछन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘आज नयाँवर्ष हो’ शीर्षकको कविता समेटिएको छ ।
सम्पा. |
बिर्सिदेउ हिजोका
अनगिन्ती दुःखहरू
भोक, ताप र अशान्तिभित्र
रूमल्लिएका तिम्रा
बिवसता र बाध्यताहरू
सबै पिर फुकालेर
किलामा झुन्ड्याऊ
दम्भको बिष हृदयबाट निकाल
जिजीविषा तन्काउँदै
नव बिज छर्न जाऊ
आज नयाँ बर्ष हो ।
उमङ्ग र उत्साहको भेलसँगै
अविरल बहन सक्छौ तिमी
निराशाको साम्राज्यमा
शिलान्यास गर
आरोहण सगरमाथाको
पाल महत्वाकाङ्क्षा
बटुल साहस
निष्पट्ट अन्धकारमा पनि
भविष्य उज्ज्वल देख्ने सामर्थ्य राख
आज नयाँ बर्ष हो ।
कोमल मनको मझेरीमा
कल्पनाको सागर ओढेर
सपनाको संसार सजाऊ
संभावनाको प्रश्न होइन
मात्र प्राप्तिको आकाकांक्षा राख
हुरीमा पनि दियो बाल्ने कोशिष गर
चन्द्रमा ताकेर हिँड
समस्याहरूमा अवसर देख
किनकि
आज नयाँ बर्ष हो ।