मोहन सिटौला अंग्रेजी र नेपाली साहित्यका गम्भीर अध्येता एवम् सर्जक व्यक्तित्व हुन् । उनी साहित्यसागर इपत्रिकाका सल्लाहकार पनि हुन् । उनको परिचय यस पत्रिकाको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको नयाँ वर्ष र वसन्त ऋतुलाई समेटिएको नयाँ साल नयाँ वसन्त शीर्षकको कविता सिर्जना समेटिएको छ । यस कविताले वसन्त र नववर्षलाई मानवमा उर्जा भने ऋतु र पर्वको रुपमा चित्रण गरेको छ ।
सम्पा. |
(१)
पृथ्वीको उत्तरी खण्ड गोलार्ध यो भूगोलमा
वसन्त झम्किंदै आयो, नयाँवर्ष नेपालमा !
यी दुवै सँगमा हुन्छन् सुरुमा, तर अन्तर
पार्दछ कालले दूर जब समय कुद्दछ !
(२)
वसन्त र नयाँ वर्ष नेपालमा सँधैँभरि
सँगै प्रवेश ती गर्छन् हातेमालो गरी गरी ।
साथमा माथमा पुष्प, हृदयी सुर पङ्कज
प्रकृतिसाथमा मिल्दा संस्कृति सौम्य बन्दछ
(३)
वसन्त र नयाँ वर्ष दुवै नै श्रीगणेश हुन्
दीप उत्सव, आनन्द, नव्य, भव्य र दिव्य छन् !
सिञ्चन सलिला माला मुटु स्पन्दनमा नयाँ
फन्का मारेर कुद्दो छ जोस भर्दै नयाँ नयाँ !
(४)
शिव, सुन्दर, सौगन्ध, वसुन्धरा छ रञ्जन
दीप माला पहिर्याई शोभा मोहन कञ्चन !
दृष्टि भो भव्य औ दिव्य रहस्यमय सृष्टिको
बृष्टि भो शुभ औ सत्य,तत्वान्वेषक कृष्टिको !
(५)
अध्यात्म, भौतिकी दोटै समन्वयमा फुल्दछ
मानवी मान,सौभाग्य धरतीमा उदाउँछ ।
सूर्य,चन्द्र र तारा झैं चेत चैतन्य,दीपक
झल्झलाकार झल्केर धरती स्वर्ग बन्दछ !
(६)
मनमोहन भै मिल्छन् सुवास,रङ्ग सङ्गति
प्रीति फुल्दछ धर्तीमा,प्रफुल्लता,समुन्नति !
इन्द्रेनी खोल्दछे ढोका दूर आकाश कोणमा
जहाँ रङ्ग र आकाश,जल मिल्छन् प्रकाशमा
(७)
धुप छायाँ छ यो जुनी मानवी गीत भन्दछन्
तर आँखिरमा हार हार मा नव जीत छन्
हर्षोल्लासमयी बन्दै भमरा-पुष्पसङ्गम
प्रेमोपहार साँटेर आलिङ्गन र चुम्बन ।
(८)
मदन मर्मको मार भार विसाई शीत्तल
सारा सजाई सृष्टिको सत्य,सोम,समुज्वल !
मनमा, वनमानन्द परमानन्दमा सबै
आहा ! वर्ष नयाँ आयो वसन्तमा रमाउँदै !
(९)
बढाउँदै कला कान्ति, भ्रान्ति दूर हटाउँदै
क्लान्ति,पीडा सबै फाली स्वच्छ क्रान्ति चलाउँदै
शान्ति, सौभाग्य, सौजन्य, सिर्जनामा सजाउँदै
पञ्चतत्व सवैलाई समेटेर रमाउँदै !
(१०)
धरत्री,जल,आकाश,प्रकाशमा डुली सँधै
वसन्त र नयाँ बर्ष आए साथ मिलाउँदै !
साँच्चै मानव आफैमा म्लान औ रुद्ध, क्रुद्ध छन्
वसन्त र नयाँ वर्ष वैद्य साँच्चै सशक्त छन् ।
(११)
वसन्त, सुखको याम पौषमा पनि फुल्दछ
सकारात्मक, तेजिलो जब मानव बन्दछ !
वसन्त र नयाँ बर्ष ! स्वागत गर्छु है सधैँ
पलापला सँधै साथ देऊ नित्य रमाउँदै !
(१२)
सिञ्चन सलिला मूल स्रोत हुन् यी विरेचक
वसन्त र नयाँ बर्ष स्वागत ! नव दीपक !
चेत चैतन्यको दीप बलेछ महिमामय
बोध औ उपभोगात्मा मान्छे सर्वोच्च तन्मय !
(१३)
सृष्टिको वाटिका भित्र धरणी एक पङ्कज
सुषमा, शमता, मायाँ, सुवासमय सङ्गत
नित्य चेतक यो पुष्प कल्याण, करुणामय
सूक्ष्म सङ्केत गर्दो छ विभिन्नाकृतिका लय !
(१४)
मृन्मयी देहको भित्र चिन्मयी चित्त बस्दछ
मनुष्य नै स्वयं ईश, चैतन्य हो महेश्वर !
हो आफैं कालको माल चाल चेतनमा चलोस्
नचले दुःख हो आफैं ! शुभकामना यो लिओस् !