भूपी शेरचन (वि.स. १९९२–२०४६) नेपाली कविता परम्पराका उल्लेख्य प्रतिभा हुन् । उनलाई आधुनिक कविहरूमध्ये गोपालप्रसाद रिमाल जस्तै सम्प्रेष्य गद्यकविका रूपमा चिनिन्छ । उनका कवितामा समाजका विकृति विसङ्गतिप्रति व्यङ्ग्यविद्रोह निकै कलात्मक ढङ्गले अभिव्यक्त भएको हुन्छ । शेरचनको वास्तविक नाम भुपेन्द्रमान शेरचन हो । उनको जन्म वि.सं. १९९२ साल पुस (१४ मे १९३७) महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । उनी जम्मा छ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन बन्न पुगेकाले उनी बाल्यकालदेखि नै अत्यन्त सम्वेदनशील र भावुक बनेका थिए । त्यही संवेदनाले उनलाई समयक्रममा शक्तिशाली कवि बनायो । अध्ययनको लागि उनी बनारस गएर बस्ने क्रममा उनले उनले बि.ए. सम्म अध्ययन मात्र गरेनन् साहित्य सिर्जनाको थप अभिप्रेरणा र जिम्मेवारी पनि पाउन सके । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका सदस्य (२०२६) भएर राष्ट्रसेवा गरेका शेरचनका परिवर्तन (नाटक, २०१०), नयाँ झ्याउरे (कविता,२०१०), निर्झर (कविता, २०१५), घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५) जस्ता कृति प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा शेरचनको चर्चित कविता नयाँ वर्षलाई यस पत्रिकाको नववर्ष विशेष शृङ्खलाको पहिलो कविताका रूपमा समेटिएको छ ।
सम्पा. |
नयाँ सरुवा भई आएको हुलाकेझैँ
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीका लङ्गुर हल्लिरहेछ
उसको पदचापले
ट्वाक् ट्वाक् ट्वाक् ट्वाक्
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला–कुबेलाको बादलको गड्याङ–गुडुङ
आकाशलाई पखाला लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ,
सहनाईको बेसुरा धुनबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरू
मध्याह्न दिन
चर्को घाम
सारा रुखहरूले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यलेन्डरमा
आफ्नो जीवनको भिसा झुन्ड्याउनु छ
फेरि एकचोटि
सँगी सागीहरूको सूची बनाउनु छ
फेरी एकचोटि
भयानक बमहरू बोकेर,
उडिरहेको हवाईजहाज र रकेटहरूमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।