झाँक्रीखोलेको वास्तविक नाम यादवप्रसाद अधिकारी हो । उनले साहित्य क्षेत्रमा आफ्नो उपनाम झाँक्रीखोले राख्दै आएका छन् । उनले सुरुमा यज्ञनिधि, यादव पूर्वेली र खोलाघरे माहिँलो जस्ता उपनामबाट पनि रचनाहरू प्रकाशन गरेका थिए । उनको जन्म २०१० साल आश्विन २६ गते नवरात्री पञ्चमी का दिन मनोरमा अधिकारी र मोहनलाल अधिकारीको मौवाडाँडा पाँचथरको घर गृहस्थीमा माइलो सन्ततिका रूपमा भएको थियो । २०२२ साल सालमा फुएतप्पा ५ इलाममा बसाइँ सरेका यी प्रतिभा इलामकै प्रतिभा उपज हुन् । लामो समय विद्यालय शिक्षामा अध्यापन सेवा गरेका यी प्रतिभा कलाशास्त्री र शिक्षाशास्त्री हुन् । उनले साहित्य लेखनको प्रेरणा– आमाले घरमा धन्दा गर्दा गुनगुनाएका सिलोक र मेलो गर्दा बोलेका उखानले दिएको उनको आत्मस्वीकृति रहेको छ । कक्षा – ७ मा पढ्दै गर्दा “चेतावनी ,शीर्षकको गद्य कविता २०२३ सालमा श्री दुर्गा हाइस्कूल रबि पाँचथरको वार्षिक उत्सवमा विद्यालय सदन प्रतियोगिताको कवितात्मक प्रतिस्पर्धामा प्रथम घोषणा भएपछि कविका रूपा चिनिएका यी प्रतिभा त्यसपछि निरन्तर लेखिरहेका छन् । उनका चारखोलाको लहर (कविता सङ्ग्रह – २०५९) बाट आरम्भ भएको यी प्रतिभाको प्रकाशन यात्रामा कवितासँग बिछोड (२०६०), ब्यौली ढुङ्घामुन्तिर (२०६२ ) भूमिगत (खण्डकाव्य) २०६६), वाम निर्माता –प्रश्रित (२०७२), कविता र नारी (२०७३), खोलाघरा माल्दिदी (शोक काव्य २०७४) जस्ता खयडकाव्य प्रकाशित छन् । शान अवशान (२०७४ ) महाकाव्य पनि प्रकाशित छ । उनले कविता विधामा फुटकर कवितादेखि महाकाव्यसम्मको यात्रा गर्नका साथै कथाभित्रको व्यथा (कथा सङ्ग्रह, २०६६), बलेको आगो (निबन्ध सङ्ग्रह, २०७४) प्रकाशित छन् । रबिस्टेण्ड दमक १ झापामा बसोबास गरिरहेका यी प्रतिभाले विभिन्न संघसंस्थाबाट साहित्य र शिक्षासेवाबापत अनेक मान सम्मान र पुरस्कार पाएका छन् । निरन्तर साधनारत झाँक्रीखोलेले आफूलाई मन पर्ने सिर्जनाहरूको मिहिन समीक्षा पनि गर्ने गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा झाँक्रीखोलेको ‘झरना’ शीर्षकको कविता समेटिएको छ । यस कविताले स्सवच्छन्दतावादी शैलीमा झरनाको चलायमान सौन्दर्य उजागर गरेको छ ।-सम्पा. |
सेता फूल फुटेर झर्झर झरे ऐरो झरेका सरी
जाँतो छैन यहाँ ठुलो छ छहरो हेरेर बस्छिन् परी
कोसीको जलस्रोत वा सर सुधा रारा फुलेकी झरी
दानादार तरङ्ग ओर्लिन गईन् ब्यौली बनी निर्झरी ।। १
टल्टल् चाँद बुटा शिरोच्च हिँउको उस्तै छ सेतो घना
उड्दै वाफ छलेर दृश्य उसकै मेट्दैछ सम्भावना
ए झर्ना ! कति बर्सियौ लहरमा एक्लै सुसाइकन
तिम्रो जन्म पछाडिका तिथि गनी ऐले मलाई भन ।। २
मेरो दृष्टि निमेष बन्द नभई आलोक तीर्खा पियो
यो शोभा अनिमेष बग्दछ उँधो दृष्टान्त नौलो दियो
गोला जून असंख्य ठक्कर चुटी फुट्छन् विना तापमा
दाना सञ्चय गर्न मुस्किल भयो लट्टा उठे वाफमा ।। ३
बढ्दो वेगसँगै म जान्छु अहिले फोका गनी साथमा
डल्लै बग्छु अनित्य हुन्न गतिमा पोका बनी रातमा
साथी रोज म कल्कली दह भरौँ थोपा ननिथ्री तल
लुक्की खेल्छु शिला बटुल्छु सुकिला फल्दै गिटी निर्मल ।। ४
– झाँक्रीखोले
रबिस्टेण्ड, दमक नपा १
भानुमार्ग ।