रमेश शुभेच्छु बहुमुखी क्षेत्रमा सक्रिय युवा प्रतिभा हुन् । उनी बद्ध लयका शास्त्रीय र लोक दुवै लयढाँचामा विचार र कलाको संयोजन गर्न सक्ने कविता रचना गर्छन् । उनले मुक्त लयढाँचामा पनि अनेक कविता रचना गरेका छन् । साहित्यिक पत्रकार र समीक्षकका रूपमा पनि उल्लेख्य परिचय बनाएका शुभेच्छु मूलतः कवि हुन् । उनका दर्जनौँ कविता र काव्यकृति प्रकाशित छन् । साहित्यसागरको माधव घिमिरे अङ्कमा उनको परिचय समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘मेरो परिवार’ शीर्षकको कविता समेटिएको छ । यस कविताले राष्ट्रियता र मानवतालाई निकै जीवन्त रूपमा समेट्न सकेका छन् ।
-सम्पा. |
छन् भाइ भोकै कसरी म खाऊँ
छन् दाइ नाङ्गै कसरी म लाऊँ
आमा रुदैछन् लुटिएर चोली
सन्तान हेरूँ रमिता कसोरी ?
बाबा र आमा नबनी निरोग
दिदी र बैनी नहिँडी उठेर
आफू कसोरी हुन सक्छु योग्य
म लड्छु पर्दा शिर अर्पिएर ।
साथी सँगाती नलिएर साथ
आफ्ना छिमेकी नहिँडेर साथ
अगाडि जाँदा कसरी म जाऊँ
खुलेर भाका कसरी म गाऊँ ।
बाबा र आमा सब वृद्धवृद्धा
काका र मामा सब प्रौढप्रौढा
जो हुन् न मान्छे सब छन् समान
हुन् भाइ साथै बहिनी तमाम ।
माग्नेहरूको नभरेर हात
भोकाहरूको नभरेर पेट
म मात्र एक्लै कसरी रमाऊँ
समाज मेरो कसरी हँसाऊँ ।
म मात्र हाँसे म खुसी हुने हो
छ हाँस्नु सिङ्गै परिवार मेरो
हाँसून् छिमेकी र समाज मेरो
म हाँस्छु हाँसेपछि देश मेरो ।
समाज सिङ्गै परिवार मेरो
स्वदेश सिङ्गै परिवार मेरो
चिनेर मान्छे जब मार्छु फेरो
यो विश्व सिङ्गै परिवार मेरो ।