उद्वव घिमिरे (२०१७ कार्तिक ०५,रौता, उदयपुर, सुपुत्रः इन्द्रमाया–श्री घिमिरे) नेपाली कविता र आख्यान विधामा कलम चलाउँदै आएका प्रतिभा हुन् नेपाली साहित्य, इतिहास र राजनीति शास्त्रका विद्यार्थी घिमिरे इतिहासका र संस्कृतिका विषयलाई आधार मानेर सिर्जना गर्न रुचाउँछन् । उनका एकादेशको व्यथा (लोकमहाकाव्य २०६२), मेरो पोको (कवितासङ्ग्रह २०६३), यात्राका वीभत्स पाइलाहरू ( उपन्यास २०६५), गुफा भित्रको पर्दा (उपन्यास २०६८) र स्वयम्बर (कथासङ्ग्रह २०७२) प्रकाशित छन् । उनका विविध कृतिहरू प्रकाशोन्मुख छन् । उनको नवीन महाकाव्यकृति इतिहासभित्रको वर्तमान महाकाव्य छिटै पाठकसामु आउँदै छ । यहाँ उनको यही महाकाव्यको एक अंशलाई ‘सहिद पुत्र’ शीर्षकमा समेटिएको छ ।
– सम्पा. |
सहिदको छोरो म यस देशको चेतनशील नागरिक
जनको इच्छा बुझेर चल्ने म सचेत नागरिक
जनका पक्ष गरेर काम बाबाको सपना
गरेर पूरा गर्नेछु आमा रचेर विपना ।
(१)
मेरा छन् धेरै साथी र सँगी युद्धमा भिडेका
सामान्तीपन हटेको छैन जसले खोजेका
भइ नै रा‘छ गरिबमाथि श्रमको शोषण
शोषण चिरी म क्रान्ति गर्छु जनको पोषण ।
(२)
अपाङ्ग भएँ भए नि यही देशकै खातिर
राजसंस्था हट्यो जनले जिते युद्धमा आखिर
सामाजिक सुधार गर्नुछ अझै यो हाम्रो देशको
समृद्ध देश जीवन सुखी हुनलाई सबैको ।
(३)
श्रमको बजार खोजेर सारा विक्रीमा नेपाली
युवती युवा विदेशी भूमि पुग्या छन् नेपाली
गर्दैछन् श्रम उचित दाम नपाई खटेर
स्वदेशभित्र उस्तै छ पीडा के साध्य भनेर ।
(४)
शोषकहरू च्याएर हेर्छन् पारेर छलवल
अन्याय गर्छन्, अत्याचार गर्छन् जनता पेलेर
आआफ्नो दुनो सोझ्याई सारा उन्नति सोच्तछन्
जनताहरू आकाशे छाना घरमा सुत्तछन् ।
(५)
शोषित पीडित जनता आफ्नो मुक्तिमा जुटेका
इतिहास बन्यो सामन्तीपना चर्केर फुटेका
तरता पनि माथिल्ला नेता ऐस र आराम
आर्थिक चलखेल नसामा भुल्छन् भएर हराम ।
(६)
छोरा र छोरी विदेशी स्कुल खर्चिलो ठाउँमा
पढाउँछन् यिनले महँगो शिक्षा ढाँटेर गाउँमा
नाटक रच्छन् गरिबका लागि कनिका छरेर
समृद्धि के हो ओकली हिँड्छन् झुक्याउने गरेर ।
(७)