लालगोपाल सुवेदी नेपाली साहित्यका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘शत्रु’ शीर्षकको कविता समेटिएको छ । यस कविताले कवि र कविताको क्षयीकरणप्रति व्यङ्ग्य गरेको छ । -सम्पा. |
सर्प छैन मंगल ग्रहमा
बिच्छी छैन चन्द्र सतहमा
छन् त सर्पहरू यही पृथिवीमै छन्
छन् त बिच्छीहरू घैय्याबारी वरिपरि नै छन् ।
हुन सक्छ नेताको शत्रु
कुनै अर्को नेता
धावकको शत्रु कुनै अर्को धावक
विश्व विजेताको कुनै अर्को विश्व विजेता
भन्न त भन्छन् –
बर्मा गए कर्म सँगै
नेपाल गए कपालसँगै
कुरा नकाटी भातै नपच्ने
बानी हामी नेपालीको
बोली बन्द
पानी बाराबार
वल्लो र पल्लो घरको
जतिसुकै मानवताको कुरा छाँटे पनि
कविहरू नै हुन् आफूले आफैलाई ढाँट्ने
छट्टू धूर्त कवि नै हो
सौदाबाजी र आफूले आफूलाई नै
जुत्ता पसलमा राख्ने
कुनै डाक्टर हैन
इन्जिनियर हैन
आजको यो म्युजिकल चियर प्रतियोगितामा
घचेट्छ , ठेल्छ
कविले कविलाई नै
कविता हैन ,विज्ञापनको बिगबिगी छ बजारमा
अरे मानवता त भन्ने कुरा न हो
तथाकथित कविको शत्रु तथाकथित कवि नभएर
अर्को को होला यस दुनियाँमा
नामै कमाउने हो भने
तिमी पनि छट्टू कवि बन्ने कि ?