विन्दु दाहाल मुकदर्शक मोफसलमा रहेर साहित्य र शिक्षासेवा गर्दै आएका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ज्येष्ठ पीडा शीर्षकको कविता समेटिएको छ । यस कविताले ज्येष्ठ नागरिकका समस्यालाई उजागर गर्ने प्रयास गरेको छ । यो कविता शास्त्रीय लयढाँचाअन्तर्गत शार्दूलविक्रीडित छन्दमा संरचित छ ।
-सम्पा. |
दुब्लो जीर्ण विदीर्ण रुग्ण तनको हिँड्दै छ बूढो सधैँ
हेर्दा देख्दछु चाउलो छ शिरमा देखिन्छ टुप्पी सबै
मैला वस्त्र उजाड फुङ्ग तनको भोकै छ पीडा छ यो
देला दाल र भात आज कसले त्यो जिन्दगी के भयो ।
लामो नाक टुसुक्क शुष्क मनको पिर्लिक्कआँखा दुबै
हाँसो छैन कतै कठै अधरमा झोक्रिन्छ प्राय: रुँदै
लौराको भरमा हिँडेर जहिले काट्दै छ ऊ जीवन
गाली खान्छ वृथा तिखा वचनका सन्तान छन् दुर्जन ।
खाना खान नपाउँदा समयमा झन् रोगले चाप्दछ
आँखाभित्र विषादको तिमिरमा उद्विघ्न हा ! नाच्दछ
हेप्छन् वृद्ध भनेर सज्जनहरू साना ठुला बालक
बोल्दा हुन्छ छुरा प्रहार मुटुमा लाटो बन्यो ऊ बक
खोक्दै हुन्छ बिहान साँझ जहिले चस्किन्छ राती हियो
बढ्दा धड्कन लड्छ ऊ जमिनमा चर्किन्छ उल्टै फियो
लागे रोग अनेक जात थरका पैसा कहाँ पाउनु
भन्छन् डाक्टर ती ठुलै रकमको पोको लिई आउनू ।
हेर्ने दृष्टिसमेत हुन्छ धमिलो सुन्दैन ऊ कान नि
गाह्रो पर्छ दिसा हुँदा छिनछिनै आए सुची जान नि
यो जाडो कसरी सहन्छ उसले काम्दै छ दाह्रा किटी
बाँच्नै पर्छ विभिन्न अड्चन सही दुर्धर्षलाई जिती ।
(शार्दूलविक्रीडित)