मान भुजेलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली साहित्यमा नवप्रवेशी भए पनि उनको सक्रियता र लेखन इतिहास लामो रहेको छ । उनको परिचय साहित्यसागरमा समेटिइसकेकाले यहाँ उनको सारभूत परिचयका साथ केही मुक्तक रचना समेटिएका छन् । यी रचनाले सम्बन्ध, माया, मातृत्व, वैदेसिक रोजगारले ल्याएको समस्या जस्ता विषयवस्तुको उठान गरेका छन् ।
-सम्पा. |
मुक्तक १
जीवन कठिन भयो, टाउका माथि छ ऋणको भार
अन्यायमा बोल्न दिंदैन, हनन् छ मानवधिकार
सतत् लडिरहनुपर्ने भयो, आफ्नो हक खोस्नलाई
गुमाउनु केही छैन, जिते छ उज्यालो सुन्दर संसार ।
मुक्तक २
कहिले दायाँ, कहिले बायाँ, गर्छ तिम्रो छाया
सकेको गरेको हो किन किन ठान्छ्यौ पराया
अति भएपछि मान्छेले जिन्दगी त छोड्छ
तिमी हाम्रो सम्बन्धको के कुरा गर्छ्यौ माया ?
मुक्तक ३
जाजरकोट र रुकुममा पनि त फूल फुलेका छन्
माइतीको आँगन रित्तो छ आँखा रुझेका छन्
भूकम्पले भत्किएको घरले जीवन गिज्याइरहँदा
बुढा बा–आमा परदेशी छोराको बाटो कुरेका छन् ।
मुक्तक ४
अबोध भएर के भो ? आमालाई भर– पेट खुवाउन सक्छु
दुर्बल भएर के भो ? आमाको सपना साकार गराउन सक्छु
त्यसै भनेनन् जननी– जन्मभूमिश्च स्वर्गादपि गरियसी
सारा दुनियाँलाई श्रवणकुमारको झल्को दिलाउन सक्छु ।
गोरखा