मान भुजेलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली साहित्यका क्षेत्रमा विशेषतः मुक्तक विधामा कलम चलाउने प्रतिभा हुन् । उनले सांस्कृतिक, सामाजिक र प्राविधिक क्षेत्रसंबद्ध निबन्धहरू पनि लेखेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भुजेलका पाँचवटा मुक्तक समेटिएका छन् । यी मुक्तकले विषयअनुसारका विभिन्न भाव अभिव्यक्त गरेका छन् ।
-सम्पा. |
मेटिन सक्छौ
प्रकृतिमा अनेक रङगहरू छ्न्, तिमी फेटिन सक्छौ
होश नगरे , स्वार्थीहरूका बिचमा भेटिन सक्छौ
गौँडा गौँडामा लुकेका ढुकेका हुन सक्छ्न बैरीहरू
अजात शत्रु कोही छैन, एक दिन मेटिन सक्छौ ।
गर्छु भन्थ्यौ
सँधै तिमी मेरा कुरा सुनेर तिम्रो हृदयमा सर्छु भन्थ्यौ
कयौँ असफलतामा पछि उठ्नलाई साहस भर्छु भन्थ्यौ
परिस्थितिले फेरि पनि सोच्न बाध्य गरायो मलाई
न यता भएँ, न उता भएँ, जिन्दगी फरक गर्छु भन्थ्यौ ।
बासी अखबार
सम्बन्ध बढाउन, भेट तारन्तार भयो
धेरै टिकेन सँबन्ध, फेरि वार–पार भयो
केवल सुनाइ रह्यौ, मैले कुरा सुनिरहेँ
अब त तिम्रो कुरा बासी अखबार भयो ।
तड्पिएँ
कहिले तिम्रो नामको लागि तड्पिएँ
कहिले बन्द खामको लागि तड्पिएँ
यी नाम र खामको चापमा पर्दापर्दै
कहिले अनन्त धामको लागि तड्पिएँ ।
आमा
अपार प्रेम रस पिलाउने दानी हौ आमा
ममता र अदम्य साहसकी खानी हौ आमा
दुधको भारा तिर्न सकिएन भने पनि
क्षामा दिने महात्मा, महाज्ञानी हौ आमा ।
ललितपुर