टंकमणि अधिकारी (२१ भाद्र २०१३, भोजपुर १२, टक्सार, पैयापानी सुपुत्र : गङ्गाप्रसाद अधिकारी र तुलसादेवी अधिकारी) नेपाली साहित्यका विशेषतः कवि प्रतिभा हुन् । उनले लामो समय जनक शिक्षा सामग्री केन्द्रमा रहेर प्रशासन र सम्पादनका जिम्मेवारी निर्वाह गरे । उनले २०३८ देखि लगातर ३५ वर्षसम्म जनक शिक्षा सामग्री केन्द्रमा रहेर विद्यालय तहका पाठ्यपुस्तकको नेपाली भाषा सम्पादन एवं अन्य विभिन्न पत्रपत्रिका तथा स्मारिकाहरूको सम्पादनको काम पनि गरे । उनका केही लेख रचना कविता आदि सुरुदेखि नै लेखिए प्रकाशित भए पनि सेवा निवृत्त जीवनमा मात्र उनका कृति सार्वजनिक हुन सके । उनका म जलेको चिता २०७७) र हिटलर र भाले (२०८०) प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘अभिसप्त स्वतन्त्रता’ शीर्षकको कविता समेटिएको छ । यस कविताले पंक्षीका स्वतन्त्तताका तुलनामा मान्छे स्वतन्त्र बन्न नसकेको भाव अभिव्यक्त गरेको छ ।
-सम्पा. |
अँगलाभरि घामका पाइला बोकेर
जीवनको उडान भर्ने रहर
छातीभरि साँचेर
बग्रेल्ती उकाली ओरालीका
अनगिन्ती घुम्ती छिचोल्न निस्किएका
एक हुल कर्याङकुरुङहरू
आकाशमा हुइँकिरहेका छन्
*
समुद्रमाथि उडेका प्रेमिल चराहरू
साँझको बासको तरखरमा जुटेका छन्
सागरका वीचवीचका
ससाना रमणीय टापुहरूमा
सुहागरातको उत्सव मनाइरहेका चराहरू
सुनसान रातमा
मुटुसँग मुटु साटेर
सन्तुष्टिका पखेटा फटफटाइरहेछन्
सृष्टिको उपहार कोरल्ने रहर उचालेर
*
चराहरू पराधीन हुँदैनन्
एउटै राज्य, एक भूगोलका उपहार
चराहरूको साम्राज्य
युद्ध हुँदैन
अपार स्नेह हुन्छ, प्रेम हुन्छ
शान्तिका प्रतीक चखेवा परेवाहरू
प्रेमका प्रतीक ढुकुरहरू
नृत्य, सङ्गीतका निशानी
डाँफे, मुनाल, कोइली मयुरहरू
सत्यम् शिवम् सुन्दरम्
दिगन्तक गाइरहन्छन् चराहरू
धून छरिरहन्छन्
खोलानाला तालझरनाहरू
*
मान्छेहरू
मान्छेकै बन्धनमा दास बनाइएका छन्
भूगोल चिरेर भाग लगाएका छन्
तिघ्रा ठटाएर, हतियार पड्काएर
मानौँ, शिकारीहरू मृग मारेर
बिलो लगाइरहेछन्
बलियाले निर्धालाई निलिरहेछ
मत्स्यन्यायले मानवता चुसिरहेछ
मान्छे आँफै पशुतुल्य भएको छ !
*
यसै कारणले त
अपार प्रकृतिको अनुपम उपहार
केहीथान अधमहरूको
कोपभाजन र महत्वाकांक्षा उठेर
पटक पटक ठुँगिरहँदा
अरबै मानवरूपी चराहरूले
भू-जलधिको नैसर्गिक अधिकारको
आस्वादनविना नै मान्छेहरू
अभीसप्त मरिरहनुपरेको छ
खै ! यो रोगको औषधि
कुन धन्वन्तरी कहाँ बसेर बनाइरहेछ ?