प्रतिभा पौडेल युवा पुस्ताकी सक्रिय स्रष्टा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको नारी त्याग शीर्षकको कविता समेटिएको छ । यस कविताले नारी जातिका त्याग र समर्पणलाई विषय र विम्ब बनाएको छ ।
-सम्पा. |
नारीका त्याग देख्दैन नछोडी दोष गन्दछ
के यो समाजले नारी खेलौना मात्र ठान्दछ ?
नारीको मात्र झैँ गर्छन् धर्म नैतिकका कुरा
निष्प्राण बन्दछन् मानौँ बिनानारी परम्परा ।
मानौँ आचारको भारी नारी हुन् थन्किने थलो
कहिलेसम्म थाम्ने हो नारीले शीलको बलो !
कतिको मन राख्ने हो नारीले प्रेम पाउन
फोहोरी स्वार्थको जालो तोडी बाहिर आउन !!
इलाम ।