बिन्दु दाहाल मुकदर्शक मोफसलमा रहेर राम्रा कविता रचना गरिरहेका प्रतिभा हुन् । उनको परिचय र रचनाहरू साहित्यसागरमा प्रस्तुत भइसकेका छन् । प्रस्तुत शृङ्खलामा मुकदर्शकको ‘शरद् ऋतु’ शीर्षकको कविता समेटिएको छ । शरद्कालीन शृङ्खला भएकाले यो कविता प्रकाशन गर्नु सान्दर्भिक हुन सक्छ । यस कवितामा शरद्लाई नै विषय र विम्ब पनि बनाइएको छ । -सम्पा. |
हट्यो मैलो वर्षा गगन छ सफा नीलमसरि
लुक्यो भाग्यो कालो रविकुल घटा सागर तरी
हिरा जस्तै राम्रो झलमल प्रभा स्वर्णिम धरा
पहेँलै छन् बाला कनकसरिका उर्वर गरा ।
घुमेका छन् मौरी भुनुभुनु गरी पुष्प करुमा
झुलेका छन् आभा मुकुल हरिया पर्ण तरुमा
कहाँ जान्छे होला चपल नटुवी तेज बिजुली
अहो कस्तो राम्रो वरपर जतै बादल खुली ।
बगैँचाका शोभा कुसुम कलिला पल्लव परी
सबै हल्ली नाच्छन् छमछम गरी नर्तक सरि
कुदेका छन् नाच्दै हरिणमृगका शावक पनि
शरद् नै हो उम्दा ऋतुबिच बडा पावन धनी ।
उँभो हेर्दा अग्ला धवल गिरिका सुन्दर छटा
सबै डाँडाकाँडा हरित वन छन् मञ्जुल लता
सुसेल्दै छन् खोला मधुर लयमा सङ्गति भरी
घुमी आए हाम्रा सुखसयलका पर्व लहरी
भइन् ब्यौली जस्तै अभिनव धरा तान्छ नजर
फुलेका छन् सेतै ऋषिमुनि बनी काँस बगर
थिईन् इन्द्रेणी जो बयस तरुनी स्वच्छ मनकी
अहो कस्ती राम्री सुललित शरद् श्रेष्ठ तनकी ।