ओमकार प्रथा (ओमकार उप्रेती, २०३० मङ्सिर ९ गते, बाह्रदशी – १, मुजुरमारी, झापा, सुपुत्र : माता. गौरादेवी उप्रेती र लक्ष्मीप्रसाद उप्रेती) शिक्षा र साहित्य सेवामा समर्पित प्रतिभा हुन् । अङ्ग्रेजी साहित्यमा एम. ए, र भाषाशिक्षणमा बी. एड.गरी अध्यापन पेसामा संलग्न प्रथाले किनारामा उभिएको मान्छे ( २०७१), युध्द शिविरमा हिँडेको मान्छे (२०७४) कविता कृतिहरू प्रकाशन गरेका छन् । उनी निरन्तर रूपमा कविता, गीत, गजल, मुक्तक, हाइकु लघुकथा आदि फुटकर विधामा कलम चलाइरहेका छन् । उनको कलम बहुविधामा छरिएर पनि कविता विधामा जमेको छ । प्रगतिशील एवम् प्रगतिवादी स्वरका साथ कविता रचना गर्ने प्रथाका कवितामा नेपाली समाजका विविध पक्षलाई पढ्न पाइन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘पत्रकारको कलम’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आजका सञ्चारकर्मीले रसरङका मात्र समाचार बनाउन थालेको तर भोकले मरेका बुढीआमा र युवतीको समाचार बनाउन नसकेको पक्ष उजागर गरेको छ । कविता निकै विम्बात्मक बनेको छ ।
-सम्पा. |
यो कामुक शहरको कोठीमा
आफ्नै वैँस बेचेर
हतार हतारमा फर्किएकी छिन्— नर्मदा !
बस् !
तिमीले लेख्यौ
— आँखामा प्यासको गहिराइ छ
— वदनमा वैँसको मादकता छ
— गालामा चिथोरिएका दागहरू छन् !
— केशमा इन्द्रेणी छ
— ओठमा कामुक आव्हान छ
— र गोजीमा कण्डमको प्याकेट छ !
गजब बन्यो
पत्रकारको कभर स्टोरी !
तन्नेरीहरू
— पर्समा लुकाएर हिँड्न थाले
अर्धवैँसेहरू
— सिरानीमुनि च्यापेर निदाउन थाले
र युवतीहरू
— डाहाले जलेर ऐनामा आफूलाई हेर्न थाले !
केही दिनपछि
सहरको अँध्यारो कोठाभित्र
एउटी बूढी आमासँगै नर्मदाको लाश भेटियो !
पत्रकारहरू आए
रङ्गीन डिजिटल क्यामेरा चलाए
तर कुनै खबर आएन
सायद,
क्यामेराका माइक्रो लेन्सहरू
असमर्थ छन्
भोकको अदृष्य रङलाई कैद गर्न !
आफैँलाई बिक्री गरेर
गाँस किनिरहेका निरीह कलमहरू
यतिखेर,
चुपचाप चुपचाप मौनता ओढिरहेछन् !
र यतै कतै एक हुल मान्छेहरू
शासकका पाउमा
कलम राखेर—छमछमी मूर्दा नाचिरहेछन् !
माफ गर
मेरो प्रिय साथी !
मलाई त उस्तै उस्तै लाग्दछ
तिम्रो कलम र विरूपाक्षको अघोरी लिङ्ग !
काठमाडौँ