रमेश खकुरेल नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको कलम गद्य पद्य दुवै विधामा चलेको छ । उनी मूलत कवि एवम् महाकाव्यकार प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको र उनका थुप्रै सिर्जना प्रकाशन पनि भइसकेका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘कविता’ शीर्षककै कविता समेटिएको छ । यस कविताले कविता रचनालाई नै विषय र विम्ब बनाएको छ । -सम्पा. |
कविता लेख्न सोचिन्न खुद नै बग्न थाल्दछ
रक्सीको मात लागेझैं कविता मात लाग्दछ।।
जे जस्तो रस चाखिन्छ त्यस्तै नै मात लाग्दछ
शृङ्गार होस् कि वीभत्स खातका खात लाग्दछ।।
बर्सन्छन् भावका धारा शव्दको रूप बन्दछन्
यदि शव्द नपाएमा लेखनीले बनाउँछन् ।।
सोचेका शव्दले लेख्ता कविता बन्न सक्छ र
शिकार खेल्न बोकेको कुत्ताले काम गर्छ र ।।
मुटुमा भत्भती पोल्छ कम्प छुट्छ शरीरमा
बत्तीस दन्त घोटिन्छन् भेलले हान्छ तीरमा ।।
गुच्चामा घाम टल्केझैं आँखा टल्किन्छ टल्टल
घाँटीमा सास रोकिन्छ रक्त चल्दछ भल्भल ।।
यस्तरी वेदना हुन्छ कविको गर्भ फुट्तछ
अनि आफै चिहाँ गर्दै कविता बग्न थाल्दछ ।।
लोभले त्रासले जे होस् रोक्ने काम गर्यो भने
हुन्छ कवि बेईमान सोच्ने काम गर्यो भने।।
काठमाडौँ