वासुदेव पाण्डेय उल्लेख्य युवा कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित ‘भूस्वर्ग बैतडी’ शीर्षकको कविता समेटिएको छ । यस कविताले प्रकृतिको सौन्दर्यको बयान गरेको छ । -सम्पा. |
अँगालो हालेझैँ हरित लहरा बेर्दछ छिटो
फुली चम्पा बेली पर पर पुग्यो सौरभ मिठो
बडो शोभादायी कुसुम लहरी दिव्य छ अति
लगाएझैँ माला तरु पनि खुसी धन्य प्रकृति।।
भदौरे धर्तीको हरित रङको चित्र गजब
सबै राम्रो देखी लहसिन पुगेतुल्य छ नभ।
सिमानाको नाका परिचित झुलाघाट र तल
महाकाली धोई कलुष सब बग्ने कलकल।।
निलो यो पानीमा गगन घनको बिम्ब छ नयाँ
सजाएझैँ लाग्ने कुसुममय यो भिन्न दुनियाँ।
हिमाली शोभामा लहसिन पुगी एक-टकले
भुलेका छन् होला परिचय स्वयम् पर्यटकले।।
अहो यो धर्तीमा पवन जल उस्तै मल मिले
निकाली दानामा अमृतरस हाल्छे प्रकृतिले।
मिठो लाग्ने खाँदा घिउ पनि हुने औषधिसरि
फले खाऊँ लाग्ने मधुर रसले युक्त चिउरी।।
बगेका खोलामा न त छ पुल वा साँघु गतिलो
घुमी आए टाढा विकट पथ घुम्ती अझ ढिलो।
सधैँ यात्रा गर्छन् पथिक भर आशा र डरमा
सबैको यो साझा नियति पनि हो गाउँघरमा।।
कि हो धर्ती दानी भर,घर तथा भोजन दिने
कि हो धर्ती खानी जुन जति निकालौँ नसकिने।
लुकाई राखेझैँ सब उदरमा फूल र फल
हिलोमा जन्मायो तब कुसुमको राज कमल ।।
थुनी खोला ल्याए जललहर आवश्यक थियो
बनाए आफैँले अनुभव मिसी घट्ट बलियो।
चुनौती धेरै छन् तर पनि छ हाँसो अधरमा
अझै बाँकी नै छन् प्रविधि र कला गाउँघरमा ।।
खनी खोस्री रोपी बिजन अनि गोडेपछि कुरी
मुठी मानो रोप्ने कृषक गणको आश छ मुरी।
असारे भाकामा छुपुछुपु हिलामा बिउ छऱ्यो
कुऱ्यो बाली पाक्ने समय अनि भण्डारण गऱ्यो।।
बुढी आमा जाँतो फनफन घुमाई वरिपरि
पिठो पिस्छिन् आफ्नै गृहपरिधिभित्रै श्रम गरी।
न अर्काको आशा न त भर स्वयम् निर्भर हुन
गरे यी आमाको अनुकरण पर्ला किन रुन।।
सफा सेतो अग्लो हिमशिखरको सुन्दर छवि
छ आँखा सामुन्ने विपुल सुषमा मख्ख छ कवि।
यता रित्तो डाँडो परतिर छ शोभा कति निको
सधैँ देखे हुन्थ्यो अनुपम छटा नीलगिरिको ।।