गोविन्दराज विनोदी नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ र उनका दर्जनौँ रचनाहरू समेटिइसकेका छन् । प्रस्तुत शृङ्खलामा उनको आश्चर्य लाग्छ शीर्षकको शास्त्रीय लयढाँचाको कविता समेटिएको छ । यस कविताले मलाई म देखेर आश्चार्य लाग्छ भन्दै आत्मबोधी चेतना अभिव्यक्त गरेको छ । – सम्पा. |
बसी देहको गेहमा दङ्ग पर्दै
तृषाका अनेकौँ थरी रङ्ग भर्दै
मनोलोक मेरो रँगाएर भाग्छ
मलाई म देखेर आश्चर्य लाग्छ
१
कुनै याम सत्ता छ यो त्याग्नुपर्ने
अविज्ञात बाटोतिरै लाग्नुपर्ने
बुझी किन्तु अन्जानजस्तै बनेर
हिँडेको छ तेरो र मेरो भनेर
२
म मान्छे हुँ भन्ने छ थाहा तथापि
मनुष्यत्वलाई कतै दूर राखी
पिपासा अनेकौँ छरी चेतनामा
बनी जङ्गली डुब्छ भोगेषणामा
३
अहङ्कारले नग्नता छोप्न खोज्छ
र ईर्ष्याहरू नेत्रमा रोप्न खोज्छ
सदा नाशवान् वस्तुमा मोह राख्छ
टुटे मोहको तन्तु विद्रोह डाक्छ
४
मिले हर्ष बिर्सन्छ संसारलाई
परे दुःख सम्झन्छ आफन्तलाई
जडी स्वार्थ मस्तिष्कमा सुत्छ-जाग्छ
मलाई म देखेर आश्चर्य लाग्छ ।
५