नेपाली साहित्य परम्परामा हुँदै आएका गहन र गहनतम् कार्यहरू औँलामा गन्न सकिने छन् । त्यस्ता कार्यमध्ये जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास कृति योजना एक हो । यस योजनाका कृति शृङ्खलाको चौथो ठेली भर्खरै प्रकाशन भएको छ । यस ठेलीमा नेपाली पद्य र बालसाहित्यका विधा उपविधालाई समेटिएको छ । पद्य विधामा गीत, कविता, काव्य र महाकाव्यको इतिहास समेटिएको छ । त्यस्तै बालसाहित्यको इतिहासमा समग्र बालसाहित्यको इतिहास समेटिएको छ ।
जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (चौथो ठेली) कृति डा. माधवप्रसाद पोखरेलको प्रधान सम्पादकत्वमा प्रकाशनमा आएको छ । यसपूर्व यसै शीर्षकका अन्य तीन वटा ठेली सार्वजनिक भइसकेका छन् । यस चौथो ठेलीमा पाँच जना लेखकले सम्बन्धित विधाको सारभूत परिचयसहित मूलतः अद्यावदिक इतिहास तयार गरेका हुन् ।
प्रस्तुत ग्रन्थमा नेपाली आधुनिक गीतको इतिहास डा. वेनी जङ्गम रावलले, नेपाली खण्डकाव्यको इतिहास डा. देवी नेपालले, आधुनिक नेपाली कविताको इतिहास डा. लक्ष्मणप्रसाद गौतमले, नेपाली महाकाव्यको इतिहास डा. कृष्णराज अधिकारीले र नेपाली बालसाहित्यको इतिहास प्रमोद प्रधानले लेखेका छन् । यी सबै अध्येताहरू सम्बन्धित विधाका विषेशज्ञ पनि हुँदा सम्बन्धित विधाका अध्येताका लागि यो ठेली बहुउपयोगी ग्रन्थ बनेर आएको छ ।
जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास कृति A4 आकारमा जम्मा ११४४ (११३३.७.४) पृष्ठमा रहेको छ । यस ग्रन्थ योजनाका सबै कृतिहरू यस्तै बृहत् आकारमा आइरहेका छन् । यस इतिहास ग्रन्थका परिकल्पनाकार साहित्यकार कमल दीक्षित (१९८६–२०७३) हुन् । उनको परिकल्पनाअनुसार यस ग्रन्थका दुई वटा ठेली कमलमणि प्रकाशनबाट प्रकाशनमा आएका थिए । त्यसपछिका ठेलीलाई अन्य प्रकाशनबाट प्रकाशनमा ल्याइँदै छ । समग्रमा यस ग्रन्थयोजनाका पाँचवटा ठेली प्रकाशनको योजनामध्ये यो एक हो ।
प्रस्तुत बृहत् ग्रन्थ शृङ्खलाका प्रधान सम्पादक डा. माधव प्रसाद पोखरेल हुन् भने कार्यकारी सम्पादक डा. चूडामणि बन्धु र डा. दयाराम श्रेष्ठ हुन् । यस ग्रन्थको प्रकाशकीय मन्तव्यमा कुन्द दीक्षितले नेपाली वाङ्मयका क्षेत्रमा निरन्तर लाग्ने अध्येताहरूको सहयोग र सद्भावले यो ग्रन्थ प्रकाशन गर्न सम्भव भएको जनाएका छन् (पृ. क) । यस ग्रन्थयोजनामा थुप्रै साहित्येतिहासकार एवम् लेखकहरू समेटिएका छन् । सम्पादकीय मन्तव्यमा प्रधान सम्पादक माधवप्रसाद पोखरेलले यस ग्रन्थ योजनाका लेखकहरू भेटेसम्म सम्बन्धित विषयकै अनुसन्धाता रहेकाले यस इतिहासलाई नेपाली भाषा र साहित्यको आधिकारिक विश्वकोशीय इतिहास बनाउने लक्ष्य रहेको बताएका छन् (पृ. ग) । यस महान् प्राज्ञिक कर्मको योजना र कार्यान्वयनका साथै सहभागी सबै लेखकको प्रयत्न त्यत्तिकै उल्लेख्य रहेको छ ।
नेपाली साहित्यका र अझ वाङ्मयकै इतिहासमा यति बृहत् नेपाली साहित्यको र अन्य विधाको पनि इतिहास संस्थागत र व्यक्तिगत दुवै रूपले यसअघि लेखिएको थिएन । यस दृष्टिले यो एउटा ऐतिहासिक काम बन्न गएको छ । यो एक किसिमको साहित्येतिहासको विश्वकोशउन्मुख कार्य बनेको छ । यसको पूर्ण मूल्याङ्कन अहिले नै गरिहाल्न हतारो हुन्छ । समग्र ग्रन्थ प्रकाशन भइसकेपछि नेपाली साहित्यको कुन पाटो छुटेको छ ? साहित्यको र साहित्येतिहासको कुन पाटो कमजोर बनेको छ भनी मूल्याङ्कन गर्न सकिन्छ । आजसम्म आएका ग्रन्थहरू आफैमा पूर्ण बनेर आएका छन् ।
प्रस्तुत ग्रन्थमा ’आधुनिक नेपाली गीतको इतिहास’ डा बेनी जङ्गम रावलले लेखेकी छन् । रावलले आधुनिक नेपाली गीतको पृष्ठभूमि, प्राचीन परम्परा हुँदै आधुनिक नेपाली गीत गायनको विकास र विस्तारका दृष्टिकोणले गीत रेकर्ड १९६५ बाट मानेर प्रतिनिधि कलाकारहरूका प्राप्त गीत, सङ्गीत गायनलाई अध्ययन, अनुसन्धानबाट प्राप्त साङ्गीतिक, प्रायोगिक पक्षसमेत छुट्टाछुट्टै विवेचना गरेर प्रस्तुत गरेकी छन् । नेपाली साहित्य परम्परामा गीतको इतिहास नलेखिइरहेका सन्दर्भमा प्रस्तुत खण्ड नेपाली गीतको इतिहास र काल विभाजनका दृष्टिले पनि उल्लेख्य छ । यसले प्राचीन गीत सङ्गीत परम्परादेखि आधुनिक गीत सङ्गीतको परम्परालाई यथासक्य समेटेको देखिन्छ ।
प्रस्तुत बृहत् ग्रन्थमा ‘आधुनिक नेपाली कविताको इतिहास’ डा. लक्ष्मणप्रसाद गौतमले लेखेका छन् । उनले करिव तीन हजार कविका कविता कृतिको अभिलेखन गरेको दावी गरेका छन् । उनले आफ्नो खण्डको भूमिकामा करिव तीन हजार जति कविहरूका कविता सङ्ग्रह नै प्रकाशन भएको र अरू सयौँ हुन सक्ने सूचना दिएका छन् (पृ. १६७) । यस खण्डमा कविताको सैद्धान्तिक स्वरूप, आधुनिकता र आधुनिक नेपाली कविता, आधुनिक नेपाली कविताको पृष्ठाधार (परिष्कारवादी धारा १९७५ देखि) हुँदै स्वच्छन्दतावादी धारा (१९९१ देखि), प्रगतिवादी धारा (२००८ देखि), प्रयोगवादी धारा (२०१७ देखि), समसामयिक धारा (२०३६ देखि र उत्तरवर्ती चरण (२०६३ देखि) मानेर सोही कालका कवि र कविताको चर्चा गरिएको छ । यस खण्डले ग्रन्थको ठुलो अंश (पृ. १६५ –७३६ सम्म) समेटेको छ । यस ग्रन्थको एक प्रमुख खण्ड बनेर कविताको इतिहास रहेको छ र यसले नेपाली कविता परम्पराका बहुआयामलाई समेटेको छ ।
प्रस्तुत बृहत् ग्रन्थमा डा. देवी नेपालले ‘नेपाली खण्डकाव्यको इतिहास’ लेखेका छन् । ११९ पृष्ठको उक्त खण्डमा नेपालले २०७८ सालसम्ममा प्रकाशित १५०० भन्दा बढी नेपाली खण्डकाव्यको कालक्रमिक सर्वेक्षण गरेको दावी गरेका छन् । यसमा खण्डकाव्यात्मक वा लामो कवितात्मक संरचना भएका कृतिहरूको इतिहास छ । यस खण्डको इतिहासमा खण्डकाव्यको इतिहासलाई प्रस्तुत गर्दा परम्परित इतिहासलाई नै पछ्याइएको भए पनि समसामयिक धाराको गोलमटोल अध्ययन गर्ने परम्परालाई चिर्दै पूर्ववर्ती समसामयिक धारा र उत्तरवर्ती समसामयिक धारा भनेर खण्ड खण्डमा इतिहासलाई समेट्ने प्रयास गरिएको छ । यो नेपालको नवीन प्रयास हो । त्यस्तै यसै इतिहासले खण्डकाव्यका विभिन्न स्वरूप र बालकाव्यलाई पनि समेट्ने प्रयास गरेको छ ।
प्रस्तुत ग्रन्थमा ‘नेपाली महाकाव्यको इतिहास’ डा. कृष्णराज अधिकारीले लेखेका छन् । यस खण्डमा महाकाव्यको इतिहासलाई २००२ सालपछि आधुनिक काल र त्यसपूर्वलाई पूर्वआधुनिक काल मानी तयार पारिएको छ । अधिकारीले यस खण्डमा महाकाव्यको विधागत चिनारी, आधुनिक कालपूर्वको महाकाव्य परम्परा र आधुनिक कालको महाकाव्य परम्परालाई प्रस्तुत गरेका छन् । उनले आधुनिक कालको महाकाव्य परम्परालाई स्वच्छन्दतावादी युग (२००२– २०१४), यथार्थवादी युग (२०१५–२०३६), नवयथार्थवादी युग (२०३७–२०६२) र समकालीन युग (२०६३ देखि हाल) सम्मका रूपमा खण्ड खण्ड गरेर सोही खण्डका महाकाव्यहरूको इतिहास प्रस्तुत गरेका छन् । यो महाकाव्यको काल विभाजन वैज्ञानिक र मौलिक पनि लाग्छ । यस इतिहासमा समकालीन युगका महाकवि र महाकाव्यको मूल्य निर्णय भने दिइएको छैन ।
प्रस्तुत ग्रन्थमा ‘नेपाली बालसाहित्यको इतिहास’ साहित्यकार प्रमोद प्रधानले लेखेका छन् । प्रधानले १९४९ पछि बाल पाठ्यसामग्री रचना भएको मानी हालसम्मका बाल पाठ्यसाग्रीलाई इतिहासमा समेट्ने प्रयास गरेका छन् । यस खण्डमा बालसाहित्यको परिचय, आवश्यकता र प्रयोजनको सारभूत चर्चासहित लोक बालसाहित्य हुँदै बालसहत्यको इतिहासलाई आरम्भदेखि हालसम्म जम्मा छ चरणमा विभाजन गरी प्रस्तुत गरिएको छ । यस खण्डमा बालसाहित्यको विकासमा पत्रपत्रिकाको योगदान र संस्थागत योगदनलाई पनि प्रस्तुत गरिएको छ ।
इतिहास आफैमा विगतका घटनाहरूको वैज्ञानिक अध्ययन गर्ने जटिल शास्त्र हो । यो शास्त्रको एक शाखाका रूपमा साहित्येतिहासको विकास भएको त्यति लामो समय भएको छैन । साहित्येतिहास लेखनको उति अभ्यास पनि भएको छैन । साहित्यमा र अन्य विषयमा पनि कुनै पनि विधाको इतिहास लेख्नु सजिलो कुरा होइन । यो अन्य अनुसन्धानका तुलनामा अत्यन्तै कठिन कार्य हो । नेपाली वाङ्मयको उचित संरक्षणका अभावमा जुनसुकै विधका इतिहास लेख्न सामग्रीको अभाव छ । सामग्री सङ्कलन गर्ने आधिकारिक संस्था वा पुस्तकालयहरूको अभाव छ । भएका पुस्तकालयमा पनि सामग्री पुग्नुपर्छ भन्ने चेतनाको अभाव छ । यसो हुँदा सामग्री सङ्कलनको जटिलता कहालीलाग्दो छ । यसै क्षेत्रमा समर्पित वाङ्मयकर्मीहरूले पनि आफ्ना सामग्री आफूसँग मात्र सुरक्षित गर्न सक्ने अवस्था छ । यस्तो अवस्थामा कुनै एक वाङ्मयकर्मीको निधन भएसँगै धेरै प्रमाणहरू नष्ट हुँदै आएको छ । यस्तो चुनौतिकाबिच यति गहन साहित्येतिहासको ठेली प्रकाशन हुनु नेपाली साहित्य र वाङ्मय जगतकै लागि खुसीको कुरा हो । यस कृतिको मूल्य र धारणा मात्र यस बृहत् ग्रन्थ योजनाका धारणा होइनन् । यसपूर्व प्रकाशित तीन वटा ग्रन्थ र आगामी पाँचौँ ग्रन्थको प्रकाशनपछि मात्र यस ग्रन्थ शृङ्खलाको समग्र मूल्याङ्कन गर्न र मूल्यनिर्णय दिन सकिन्छ । यहाँ कविता विधाका फुटकर कविता, काव्य र महाकाव्यको मात्र इतिहास छ । नेपाली कविता परम्परामा गजल, मुक्तक र अन्य लघु र लघुतम कवितात्मक उपविधाहरू पनि प्रशस्तै छन् । यस पक्षमा पनि ग्रन्थ योजनाकारहरूको ध्यान जान आवश्यक छ । जे जति विधा उपविधा समेटिएर आएका छन् तिनको अभिलेखन उल्लेख्य रहेको छ ।
-डा. रमेश शुभेच्छु