सीता भट्टराई समीक्षा र सिर्जनाका बहुआयाममा कलम चलाउने प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित ‘रोक्न मिल्छ र ?’ शीर्षकको कविता प्रस्तुत गरिएको छ । यस कविताले सधैँ सत्कर्म गर्न र शिक्षा आर्जन गर्न आह्वान गरेको छ ।
-सम्पा. |
गरौँ कर्म सदा खट्दै नहोस् आसक्ति आखिर
मिल्दा फल भने जस्तै भागोस् लोभ पछिल्तिर
जिन्दगानी रहेसम्म कर्मकै गीत गुन्जियोस्
शिक्षा,र सभ्यता हाँस्दै अनन्तसम्म फैलियोस्
ज्ञानबाट मिलोस् मुक्ति ध्यान होस् अझ उज्ज्वल
कर्मबाट मिलोस् शक्ति श्रम होस् अझ निश्चल
ईर्ष्या ,द्वेष तथा अल्छी भागोस् डर्दै अझै पर
नदी होस् जिन्दगी आफ्नै पुगोस् समुद्रखातिर
चम्के पनि यहाँ जून छोड्छ दिन उदाउँदा
लागे पनि यहाँ घाम भाग्छ सूर्य विदा हुँदा
आफ्नो कर्म जहाँ जे छ गर्नै पर्ने छ आखिर
विनाकर्तव्यको मान्छे बनेको नै कहाँ छ र ?
विश्वासले जिते मान्छे आफ्नै लाग्छ सधैँभर
विनाविश्वासको खेती रोप्न कहाँ सकिन्छ र ?
वुद्धि, विवेकले मात्रै अघि लागौँ निरन्तर
आफ्नै सङ्कल्पले मात्र मिल्छ जीवन सुन्दर !
सानै होस् झोपडी किन्तु निद्रा मिठो मिलोस् बरु
मिल्दैन रे भने शान्ति चाहिन्न धनको चरू
सकेजति गरौँ रम्दै नसके सब छोड्नु छ
मर्दा सकिन्न लैजान बाँच्दासम्मन रम्नु छ !
चाहे हावा चलोस् नित्य आएकै छ सदा दिन
चाहे वर्सोस् न वर्षा त्यो रात्री धाउँछ दिन्दिन
समय यो घुमेको छ आफ्नै मार्ग भएतिर
पृथिवीनै घुमेकाले कर्म यो रोक्न मिल्छ र ?