जयन्ती सत्याल राष्ट्रसेवक कर्मचारीका साथै सशक्त नारी हस्ताक्षर हुन् । उनको कलम विभिन्न विधामा चलिरहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको म बुढी भएँछु शीर्षकको कविता समेटिएको छ । यस कविताले वृद्ध मनोविज्ञानलाई विषय र विम्ब बनाई हरेक ज्येष्ठ पात्रले अफ्नो ज्ञान र जोस नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने चेतना अभिव्यक्त गरेको छ । -सम्पा. |
जीवनका लामा गोरेटाहरूमा
हिड्ँदाहिँड्दै लस्त बनेँ आज
सुइँय सुस्ताउँदै,थकित हुँदै
जीवनसँग बिदा माग्न लागेँ आज ।
थाक्यो जीवनपथ,
थाक्यो यौवनपथ
कुनै निशाले लठ्ठयाए झैँ
लठ्ठ परिरहेछु, परिरहेछु
आँखाबाट आँसु पोखिरहेछु ।
व्यथा वायुमण्डलमा नै घुम्दछ
पीडा छातीमा नै गुम्सन्छ
आघात परिरहेछ म आफैँलाई
मेरो चाहना बल्दो छ, हुर्हुराउँदो छ ।
अनन्त पाइला
पछाडि परिरहेछ
जीवन बतास झैँ उडिरहेछ ।
अस्थिपञ्जर अझैँ खुम्चिरहेछ
म बुढी विलीन भइरहेछु
यसरी नै अस्ताइरहेछु, अस्ताइरहेछु ।
अन्तिम घडीमा
बैँसालु मेरो जोस
सारिरहेछु नानीहरूलाई
ढुक्कसँग अस्ताइरहेछु आजलाई ।