ज्ञानसम्पदा विभिन्न ज्ञान परम्पराबाट स्थापित साझा बौद्धिक सम्पदा हो । सोझो दृष्टिले हेर्दा ज्ञान परम्परा विविधतामय छ । यस परम्परामा कतिपय कटर एक पक्षीय दृष्टिकोण छन् भने कति उदार दृष्टिकोण पनि छँदैछन् । ज्ञान परम्परामा उदार दृष्टिकोण निकै लाभप्रद हुन्छ । उदार दृष्टिकोण भएन भने त्यो ज्ञान आफै नयाँ मूल्यहरू अगाडि कमजोर बन्दै गएर समाप्त हुन्छ । पूर्व र पश्चिममा विकसित ज्ञान परम्परामा त्यस्ता अनेक दृष्टिकोणहरू ज्ञानसम्पदाका रूपमा स्थापित र त्यतिकै क्षय पनि भएका छन् ।
सरल भाषामा भन्दा ज्ञानसम्पदा दर्शनहरूको स्थपना र विकासमा अडेको हुन्छ । ज्ञानसम्पदाका सन्दर्भमा हरेक ज्ञानका खोज कर्ताले प्रश्न गर्न सक्छन् : आजको समाजले सम्बद्र्धन र प्रबद्र्धन गर्न खोजेको मूल्य मान्यता के ? हिजोको समाजले स्थापना गरेको वा गर्न खोजेको मूल्य मान्यता के थियो ? हिजो र आजका सामाजिक चिन्तनलाई तुलना गरेर हेरियो भने भोलिका लागि के परिणाम आउँछ ? आजको मूल्यलई मात्र बोकेर हिँडियो भने आज के कस्ता आलोचना खेप्नुपर्छ ? यही मूल्यले भोलिको बाटो कतातिर जान्छ ? विश्व ज्ञानपरम्परा वा राजनीतिले आज भनिरहेको लोकतान्त्रिक प्रणाली सधैँका लागि सम्भव छ या छैन ? लोकतन्त्रभित्रका थप लोकतान्त्रिक मूल्यहरू के कस्ता हुन सक्छन् ? आदि इत्यादि । यी नमुना प्रश्न मात्र हुन् । जिज्ञासु बनेर यस्ता थप सम्भानाको खोजी गरिएन भने लोकतन्त्र पनि कमजोर बन्न सक्छ । राजनीतिक सन्दर्भमा लोकतन्त्र जस्तै अन्य विषय र विधामा पनि यो चिन्तनगत सूत्र लागू हुन्छ ।
परम्परादेखि आजसम्म स्थापित मूल्यलाई हेर्दा राम्रो हुँदाहुँदै पनि आज स्थापित मूल्य भोलि उत्तिकै मात्रामा स्थापित नहुन सक्छ । वर्तमान सयमा स्थापित मूल्यअनुरूपका प्रणालीका मान्यता समाजमा पाच्य भएनन् भने तिनका अवधारणा नै समाप्त भएर जान्छन् । यस समयमा समाजले ठानिरहेका आदर्शहरू क्रमश: क्षीण हुँदै र समाप्त हुँदै जान्छन् । तिनको वैज्ञानिक र समयसापेक्ष पाटो प्रबल बन्यो भने मात्र क्रमश: विकसित हुँदै स्थापित हुने सम्भावना हुन्छ । यस आधारमा चिन्तन र ज्ञानको शृङ्खला एकपछि अर्को स्वरूपमा विकास भइरहेका हुन्छन् । त्यस क्रममा बलिया विचारहरू र विचारअनुसारका व्यवहारहरू स्थिर बन्दै आउँछन् । त्यस्ता स्थिर चिन्तनमा नवीन दर्शनको जन्म हुन्छ । ती दर्शनको पनि ज्ञानसम्पदाका रूपमा स्थापित हुने प्रयत्न निकै सङ्घर्षपूर्ण हुन्छ ।
हरेक समाजमा ज्ञानसम्पदाका वीज हुन्छन् । नेपाली समाजमा पनि मौलिक बौद्धिक परम्पराहरू छन् । त्यस्ता बौद्धिक परम्परा एक दुई होइन अनेक छन् । यद्यपि त्यस्ता रैथाने ज्ञानको सैद्धान्तिक आधार निर्माण भइसकेको छैन । नेपाली ज्ञान परम्परालाई मसिनो गरी अवलोकन गर्यो भने नेपाली, संस्कृत, अङ्ग्रेजी परम्पराका ज्ञान सम्पदाको संयोजन भएको जस्तो लाग्छ । सूक्ष्म दृष्टि दिँदा नेपालका आदिवासी र आम समुदायका संस्कृति, सभ्यता र वाङ्मयबाट पनि नेपाली ज्ञानपरम्परा समृद्ध बनेको छ । नेपाली ज्ञान परम्परा एक किसिमको उदार ज्ञान परम्पराका रूपमा विकसित छ । साहित्य, कला र संस्कृतिका क्षेत्रमा पनि र ज्ञान परम्पराका क्षेत्रमा पनि यस किसिमको मिश्रित ज्ञानगङ्गाको प्रभाव देखिन्छ । हाम्रो मौलिक ज्ञानसम्पदा के हुन सक्छ ? यो चिन्तन भने कमै मात्र भएको छ ।
नेपाली ज्ञान परम्परामा एउटा निकै खतरा सङ्क्रमण छ । त्यो सङ्क्रमण सामान्य अवधारणाको विकासदेखि नै भइरहेको छ । त्यस्तो सङ्क्रमण भन्नु नै जुनसुकै अत्तर्राष्ट्रिय चिन्तनको सोझो आयात हो । यस्तो चिन्तनको आयातले नेपाली मौलिक ज्ञान कमजोर पारिरहेको जस्तो लाग्छ । जुनसुकै राष्ट्रिय अन्तराष्ट्रिय चिन्तनको सोझो प्रभाव नेपाली राजनीति र अन्य विषयमा पनि देखिन्छ । यस्तो सङ्क्रमण राजनीतिमा जस्तै साहित्य र कलामा पनि उत्तिकै प्रबल देखिन्छ । यसले क्रमश: मौलिक र रैथाने चिन्तनलाई कमजोर बनाउने हो कि भन्ने डर जिउँकातिउँ हुन्छ । यो डरबाट बचेर ज्ञान–चिन्तनको विकास गर्न सके नेपाली मौलिक चिन्तनका स्थापनामा सहायक बन्न सक्छन् । त्यसो गर्दा यहाँका जाति, जनजाति र समुदायपिच्छेका विचार र दर्शनहरू राष्ट्रिय चिन्तनका रूपमा विकसित बन्न सक्छन् । आशा गरौँ हाम्रा चिन्तकहरू सचेत बन्ने छन् र हाम्रा चिन्तनहरू राष्ट्रिय, अन्तराष्ट्रिय जगत्मा स्थापित बन्ने छन् ।
-डा. रमेश शुभेच्छु