सुचित्रा पुरी (चण्डेश्वर पुरी/सुशिला तिमिल्सिना) अन्नपूर्ण माध्यमिक विद्यालय, जमल, काठमाडौँमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन् । उनी साहित्य रचनामा रुचि राख्छिन् । यहाँ उनको देशभक्ति भावना रहेको कविता ‘स्वाभिमानी नेपाली’ समेटिएको छ । –सम्पा. |
सगरमाथा जस्तै अडिग भएर जिउने स्वाभिमानी नेपाली
उकाली ओराली गर्छ आफ्नो पौरखलाई अंँगाली
रगतको थोपाथोपामा हिंँड्छन् स्वाभिमानको पहिचान बोकेर
कुरा आफ्नो इज्जतको छ भने उनीहरू बस्दैनन् सोचेर
खुकुरीको धार जस्तै तिखो गरी लड्छन्
आफ्नो आत्मसम्मानका निम्ति ज्यान फाली अघि सर्छन्
निलो आकाश बरु भुक्ला तर यो नेपाली कहिल्यै झुक्दैन
आज स्वाभिमानी नेपालीको वर्णन गर्न सायद मेरो शब्द नै पुग्दैन
किसान होस डाक्टर स्वाभिमान त नेपालीको रगतमा नै हुन्छ
हाम्रो देशभक्ति देख्दा शत्रुको मन त अवश्य रुन्छ
स्वाभिमान नै हाम्रो आभूषण यही नै हाम्रो शान
वीर गोर्खालीको पद दिएर नेपालीलाई गरेका थिए सम्मान
सुन लगाएर होइन हजुर आदर्श कमाएर धनी बनिन्छ
विश्वमा राष्ट्रभक्त भनेर स्वाभिमानी नेपालीलाई चिनिन्छ
फूलको भन्दा पनि स्वाभिमानको सुगन्ध छुट्टै हुन्छ
यस भावनालाई त अन्धोले देख्छ वा बहिरोले पनि सुन्छ
हिरालाई कहिल्यै पनि तराजुमा जोखिँदैन
स्वाभिमानीपनको भावना जबरजस्ती पोखिँदैन
भनिन्छ नि अकबरी सुनलाई कसी लाउनु पर्दैन
ए हजुर ! नेपालीको स्वाभिमानलाई जोखिराख्नु पर्दैन ।