नमन कोइराला रामेश्वर कोइराला तथा प्रमिला कोइरालाका सुपुत्र हुन् । उनी रत्नराज्य माध्यमिक विद्यालयको कक्षा १० का छात्र हुन् । उनी साहित्यरचनामा विशेष रुचि राख्छन् । यस श्रृङ्खलामा उनको ‘सहीद’ शीर्षकको कविता प्रस्तुत गरिएको छ । कविताले सहीदप्रति सम्मान व्यक्त गरेको छ । –सम्पा. |
हाम्रा मान्य सहीदका रगतको होस् मान औँ सम्झना
त्यागे देह भनेर देश जनता राखी महान् भावना ।
सच्चा उच्च विचारले अघि बढे गर्दै गुनी कल्पना
हामी शुद्ध तथा उदार दिलले श्रद्धा गरौँ अर्चना ।।
आफू सङ्कटमा परी मुलुकले अस्तित्व राखी जिए
फाँसीको पनि हार साहस गरी टाँसी लगाई दिए ।
सिङ्गो राष्ट्र बनाउने प्रण गरी तारा बनी चम्किए
कीर्ति प्रेम घटेर शुद्ध सुकिलो संसारमै मानिए ।।
हामी मान गरौं सहीद सबको बन्दै गुनी मानव
जस्ले थुक्छ सहीदको नजिकमा त्यो हो महादानव ।
कस्तो शक्ति सहीदको छ, ल बुझौं हामीले अब
पुरा हुन् सपना सहीद दिलका हाम्रो बढोस् गौरव ।।
हाम्रा मान्य शहीदका बल मिली नेपाल होस सुन्दर
छुच्चा, दुष्ट र धूर्त रावणहरू भागुन् डराई पर ।
देवीदेव बसून् सुखी अति भई शैलेश मानी घर
श्रद्धासाथ उठुन् सहीद सबमा हाम्रा हितैषी कर ।।