सृष्टि गौतम (लक्ष्मण गौतम/सिता गौतम) रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर, काठमाडौँमा कक्षा १० अध्ययरत छात्रा हुन् । उनी साहित्यमा रुचि राख्छिन् । साहित्यसागरको यस श्रृङ्खलामा उनको ‘मेरो देश मेरो गौरव’ शीर्षकको कविता समेटिएको छ । कविताले राष्ट्रिय चेत मुखरित गरेको छ । –सम्पा. |
रातो र निलो रङ भएको
फरफराउँदो झण्डा बोकेको
विश्वलाई एउटा फरक चमक दिँदै
सुन्दरताको सुन्दरपन बोकेको
हो मेरो देश नेपाल हो
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालीको शिरमा
कहिल्यै कसैको गुलाम नबनेको मेरो देश
बस्दैन कुनै पिरमा
प्राकृतिक सुन्दरता र भौगोलिक विविधतामा
सधैँ अग्र रहेको
टुकीको दियो भए पनि
उज्यालो सबैलाई दिन सक्ने क्षमता भएको
एक होइन हजार वीरहरू जन्मिएको
एक होइन हजार वीरहरू जन्माएको
अनि ती वीरका रगत पसिना यही माटोमा रमाएको
त्यसैले त आज ससाना राज्य राष्ट्र बनेको छ
प्रत्येक नेपालीले गर्वका साथ म नेपाली हुँ भनेको छ ।
त्यसै नेपाल भनिएको होइन नि
जहाँ देशको लागि रगत बगाउने वीर मात्र नभई
साहित्यको भण्डार भर्ने विशिष्ट व्यक्तित्व जन्मायो
जसका कृतिले यो नेपाली माटोलाई स्वर्णिम बनायो
अनि नेपाली साहित्यले विश्वमै एउटा फरक पहिचान समायो
शान्तिको प्रतीक जन्माएको यो देश
जहाँ छन् विभिन्न भाषा संस्कृति अनि भेष
अनेकतामा एकता बोकेको
सुसंस्कार अनि सुसंस्कृति सहित आफ्नै मौलिकताले छोपेको
त्यो झण्डामा भएको चन्द्रसूर्य पक्कै हुन सक्छौँ हामी
विश्वका निम्ति फरक परिचय बनाउन सक्छौँ हामी
हरेक नेपाली एक भएको
विशाल नेपाल बन्छ साथी
तब मात्रै यो घर्तीले
नेपाललाई आफ्नो सन्तान मान्दा गर्व छ भन्छ साथी
ती वीरहरूको साहस र प्रतिभालाई सम्मान गरौँ
अनि हामी पनि त्यस्तै राष्ट्रभक्ति कार्य गरौँ
अब हरेक नेपाली जुटनुपर्छ
आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ
तब मात्र राष्ट्र बचाउन सकिन्छ
तब मात्र राष्ट्रियता बचाउन सकिन्छ ।