आशिष अधिकारी बालप्रतिभा हुन् । ब्राइट फ्युचर मा. वि., सातदोबाटो, ललितपुरमा कक्षा १० मा अध्ययनरत उनी प्रकाश अधिकारी शर्मा र राधिका पोख्रेलका सुपुत्र हुन् । उनको ‘प्यारो भूमि’ शीर्षकको कविता यहाँ समेटिएको छ । कविताले नेपालको वर्णन गरेको छ । –सम्पा. |
हिउँको शीतल तन्नामा आफैँलाई लपेटेर
डम्फुसँग ताल मिलाउन खोज्छु
चौँरी र च्याङ्ग्रा चौरीमा चराउँदै
सहर्ष हिमालमा आफ्ना आदर्श पाइला चाल्छु ।
पहाडको मन्द बताससँगै होमिएका
चराचुरुङ्गीको बोलीले मलाई फुरूङ्ग्याउँछन्
गृष्म ऋतुको आगमनमा बर्सेको झरीको साक्षी बन्दै
मयूरले मलाई रम्न सिकाउँछ
मन्दिर, मस्जिद, गुम्बा र चर्चको दर्शनमा
बिहानको झिसमिसे उषा र साँझको रङ्गीन गगन नियाल्छु ।
पहराको शीतलता सुम्सुम्याउँदै गर्दा
मधेसको अँगालोमा बेरिन पुग्छु
झुलेका धानका बालासँगै
झुल्दै जान्छु म पनि
आफ्नै भूमि प्यारो लाग्छ
पराई भूमिले मलाई लोभ्याउन नसकोस्
यही भूमिको रक्षक भई जन्मेको म
विलासी लोभमा कतै बेचिनु नपरोस् ।।