पल्पसा काफ्ले (पाराश्वर काफ्ले÷साबित्रा पाण्डे) विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा हुन् । उनी कक्षा – ९ मा अध्ययनरत छिन् । साहित्यसागरको यस विशेष श्रृङ्खलामा उनको ‘हृदयमा नयाँ सूर्य’ शीर्षकको कविता समेटिएको छ । कविताले नेपालको प्राकृतिक सम्पदाको वर्णन गर्दै राष्ट्रिय चेत बाकेको छ । –सम्पा. |
शिरमा पहिरिएर चम्किलो ताज सगरमाथाको
एकाविहानै मुसुक्क मुस्कुराउँछ मेरो देश
सुनौलो किरण छर्दै धर्तीमा
चिर्दै अन्धकारलाई
मेरै उज्यालो हृदयमा उदाउँछ मेरो देश
हाकपारेको मिठो भाका सुसेल्छ कहिले
धान नाचमा कम्मर पनि मर्काउँछ
सङ्गिनी, देउडा, जितिया र बालनमा बाँडिन्छ मेरो देश
भोटे दाइ भएर चौरी धपाउँदै सैलुङ्गको लेकमा रमाउँछ कहिले
शेर्पा भएर सगरमाथाको पदचाप पनि पछ्याउँछ
हरिया पहाडी वनमा सुसेल्दै भेटिन्छ कहिले
भेटिन्छ तराईका फाँटहरूमा लहलह धान झुलाउँदै
आहा ! मुटुमुटुमा भेटिन्छ मेरो देश
ह्यातुङ झरना भएर सुसेल्छ कहिले
फैलिन्छ राराको विशाल दह भएर
महाकाली र कर्णाली भएर गुनगुनाउँछ अभावका गीत
सुनाउँछ तुइनसँगै चुँडिएका जीवनका कथा
ओहो ! कर्णाली दुख्नु भनेको देशै दुख्नु रहेछ
कर्णाली भोकाउनु भनेको देशै भोकाउनु रहेछ ।
मलाई लेख्नु छ मेरो देशको नयाँ कविता
जहाँ इलामको चिया पिएर
सुरु गर्नेछ दार्चुलाले आफ्नो दिनचर्या
झापाको धानले भर्नेछ हुम्लाको पेट
जुम्लाको स्याउ खाएर मुख मिठ्याउनेछ जनकपुरले
एकअर्काको सहारा बनेर एकताको साङ्लो गाँस्दै
हृदयमा उदाउनेछ एउटा नयाँ सूर्य
मनको मैलो पखाली
ध्यान र ज्ञानले
मानव बनाउनेछ मेरो देश ।