जेनिसा जोशी (जयराम जोशी÷सुनिता जोशी) भक्तपुर इ. से. स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन् । उनी नेपाली साहित्यमा अभिरुचि राख्छिन् । शास्त्रीय कविता लेख्न उनी अभ्यासरत छिन् । यस श्रृङ्खलामा उनको अनुष्टुप् छन्दमा संरचित ‘मेरो देश’ शीर्षकको कविता प्रस्तुत गरिएको छ । कविताले राष्ट्रिय चेत प्रस्फुटित गरेको छ । –सम्पा. |
स्वराष्ट्र गरिमा हाम्रो विशिष्ट परिचायक
कर्णाली वाग्मती कोसी बग्दछन् ज्ञानदायक ।।१।।
कला संस्कृति संस्कार सभ्यता सिपको घर
बनेको छ सदा शान्त सभ्य शालीन सुन्दर ।।२।।
कोपिला सूर्य रश्मिले फुलेका सौम्य फूलझैँ
विवेकी बन्दछौँ सारा ज्ञानामृत पिई सधैँ ।।३।।
पीपल फेदमा पुग्दा ज्ञानको हुन्छ मन्थन
खुल्छन् त्रिनेत्र विद्याले बन्छ जीवन कञ्चन ।।४।।
देशभक्ति सदाचार सत्कार्य अनुशासन
गर्दछौँ पालना हामी बन्न सुसभ्य सज्जन ।।५।।
हिमाली काखमा बस्छौँ एक भै भिन्न सन्तति
एकता सूत्रले बाँधी बाँच्छौँ जाति भए जति ।।६।।
भाषा धर्म अनेकौँ छन् जगाएर सहिष्णुता
बगाई पसिना नित्य बाँच्दछौं कर्मले सदा ।।७।।
परोपकार सेवामा एक भै नित्य जुट्दछौँ
पोखी पौरख माटोमा हामी स्वर्ण फलाउँछौँ ।।८।।
पुर्खाको गरिमा सारा हाम्रा जेजति गौरव
रक्षा गर्छन् सधैँ शैल जगाई माथ उन्नत ।।९।।
विश्वमा भिन्न संस्कार बोकी हिँड्दछ यो घर
स्वर्गझैँ पूर्ण सौन्दर्य पाएको शान्त भूधरा ।।१०।।