पल्पसा ढकाल नवप्रतिभा हुन् । हरि ढकाल र प्रेमकुमारी पौडेल ढकालकी सुुपुत्री पल्पसा कक्षा – १०मा अध्ययनरत छात्रा हुन् । उनी अहिले पाठशाला फाउन्डेसन नेपाल,बागडोल, ललितपुरमा अध्ययनरत छन् । उनको साहित्यिक अभिरुचि निकै लोभलाग्दो छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘नेपाली पहिचान’ शीर्षकको कविता समेटिएको छ । लोकलयमा संरचित यस कविताले नेपाली राष्ट्रियताको परिचय दिएको छ । -सम्पा. |
प्राकृतिक सौन्दर्यले सिँगारिएको देश
सधैँ सधैँ प्यारो लाग्ने आफ्नै भाषा भेष
चार जात छत्तिस वर्ण साझा फूलबारी
सबै भाषा भाषी बस्ने सितल छहारी
आफ्नै भाषा संस्कृतिमा डाँफे नाचेको छ
जलकपूर, असला र मुनाल बाँचेको छ
हिमाल हाम्रो कति राम्रो हिँस्स हाँसेको छ
पहाडका तरेलीमा मृग नाचेको छ
हिमालले सितल दिन्छ तराईले ताप
भूपरिवेष्ठीत देश मेरो दुई ढुङ्गाको काप
छङछङ बग्ने नदी हाम्रा हिमाल पारीबाट
सुन्दर, शान्त, मनमोहक बनाउँदै फाँट
वनपाखामा कोइलाी चरी गित सुनाउँछ
मयुरीले रमाइ रमाइ नाच देखाउँछे
बाह्र सिङे उफ्रीउफ्री जंगल घुम्ने गर्छ
गिरीवनमा कस्तुरीले सुवास छर्ने गर्छ
कर्म हाम्रो पहिचान हो संस्कार शब्यताको
संसारकै मन हर्ने संस्कृति छ प्यारो
हावापानी सारै राम्रो बोलिबचन राम्रो
दौरा सुरुवाल, ढाका टोपी पहिचान हाम्रा
पाठशाला फाउन्डेसन नेपाल,
बागडोल, ललितपुर