रोहित श्रेष्ठ प्रेमकृष्ण श्रेष्ठ र रमा श्रेष्ठका सुपुत्र हुन् । उनी अन्नपूर्ण माध्यमिक विद्यालय, जमल, काठमाडौँमा कक्षा १० मा अध्ययनरत छात्र हुन् । उनी कक्षाका पुस्तक अध्ययनका अलावा साहित्य रचना गर्न रुचि राख्छन् । साहित्यसागरको यस श्रृङ्खलामा उनको ‘देशभक्ति’ शीर्षकको कविता रचना समेटिएको छ । कविताले नेपालको स्वाभिमान कायम राख्न पुर्खाहरूले गरेको वीरताको बखान गरेको छ । – सम्पा. |
स्वाभिमानी आफ्नो पौरखमा बाँच्छु म
दिनरात पसिना बगाउँछु ढिँडो खाई बाँच्छु म
यही माटामा सुगन्ध फैलाउँछु, यही माटामा हाँस्छु म
देशभक्तिपूर्ण साहित्यलाई हृदयमा आनन्दले साँच्छु म ।
झुक्न दिएनन् शिर कहिल्यै
बरु काटी मरी गए स्वयम् आफू
वीरता बग्छ रगतमा मेरो
म पनि त उनीहरूकै सन्तान हुँ ।
ए नेताहरू आफ्नो गोजी मात्र नभर
भ्रष्टाचारको नशामा लठ्ठ छौ यति बेमानी पनि नगर
ए जनताहरू राजा भगाउने तिमी नै होइनौ ?
अब ‘राजा ल्याऊ देश बचाऊ’ भन्दै नारा लाउँदै यति मूर्ख पनि नबन !
हे । यो देशको नेपाली
पुर्खाको योगदानलाई सम्झन खोज
सम्झिए यी अमर गोरखाली
अब अहङ्कार या देशभक्ति रोज !
खाली हात त के जानु सम्मानका साथ मर्न पाऊँ
कति अब्बल देश मेरो भनी विश्वमा चिनाउन पाऊँ
आफ्नो वीर पुर्खाप्रति खुलेर गर्व गर्न पाऊँ
अन्तिम नाम फेर्दासम्म जय नेपाल भनी गाउन पाऊँ ।
कक्षा – १०
अन्नपूर्ण माध्यमिक विद्यालय, जमल, काठमाडौँ