आराध्या पराजुली कक्षा आठमा अध्ययनरत छात्रा हुन् । उनी हेमकर्ण पराजुली र अनिता पराजुलीकी सुपुत्री हुन् । युनाइटेड स्कुल,इमाडोल, ललितपुरको कक्षा आठमा अध्ययनरत पराजुलीको साहित्यिक अभिरुचि निकै गहिरो छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको हराएको मानवता शीर्षकको कविता समेटिएको छ । यस कविताले बालसुलभ भाकामा मानवताको खोजी गरेको छ । –सम्पा. |
आधुनिक युगको कोलाहलमा
एक तीक्ष्ण सत्य केन्द्रमा रहेको छ,
मानवले बनाएको संसार, यो विस्तृत र महान्
तर मानवता भने दुर्लभ हुँदै गएको छ ।
भोग, उपभोग र विलासितामा
दया र समवेदना हराइरहेको छ,
लोभ र स्वार्थले राज गर्दा
मानवताको मूल्यमान्यता थरथराईरहेको छ।
प्रगति, धन र पदको दौडाहामा
मानवीयता टुक्रा टुक्रा भइरहेको छ,
त्यहीअनुसार जीवन जिउने तरिका बदलिँदा
मानवताको सच्चाइको जग बिलाइ रहेको छ ।
बाध्यताको फाइदा उठाई अन्धविश्वासको जग बलियो बनाइदैँ छ
जात र धर्मको नाममा घृणा फैलाइँदै, युद्ध लडिँदै छ
आफू शक्तिशाली बन्ने दाउमा छुवाछुतको आगो बालिँदै छ
असमानता र विभेदले भरिँदै गएको समाजमा मानवताको
हृदय दिनानुदिन टुक्रिँदै छ ।
अरूको आँसुमा हाँसेर दरिद्र सोचहरूमा रमाएको संसारमा
आज नाङ्गिएको मानवता अँध्यारो सुरुङबाट उद्धारको प्रतीक्षामा थरथरी काँपिरहेको छ
हाम्रो समाज आजभोलि कता कता भौतारिएको अवस्थामा
मानव नै जागरुक भई मानवता जोगाउनुपर्ने अवस्था आइपरेको छ ।
कक्षा – ८
युनाइटेड स्कुल,
इमाडोल, ललितपुर