मेरिया गुरुङ कक्षा – ९ मा अध्ययनरत छात्रा हुन् । शङ्कर गुरुङ र मिना गुरुङकी सुपुत्री मेरियाको साहित्यिक अभिरुचि निकै गहिरो छ । उनले रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारी, काठमाडौँका विभिन्न आन्तरिक प्रतियोगितामा भाग लिएकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘तिम्रो सुन्दर पर्खाइ’मा शीर्षकको कविता समेटिएको छ । यस कविताले संस्कृति र सभ्यताको महत्त्व उजागर गरेको छ ।
-सम्पा.
|
भूगोलभन्दा लाखौँ गुना बढी
प्यारो हुने रहेछ सभ्यता ।
जब लामो झरीपछि
छिछिमिराहरू निस्कने छन् दुलाबाट
उज्यालो आशा बनेर
मगमगाउने छन् शारदी फूलहरू
हेरूँ हेरूँ झैँ लोभलाग्दा पुतलीहरू
सखी तिम्रै हातमा ल्याउनेछन्
सुनगाभाको सुन्दरता
एक अनुपम आनन्द
तिमी महसुस गर्ने छौ एक भूगोल जिन्दगी
सभ्यता, संस्कृति, भाषा र एकत्व
तिमीले पुर्खासँग नासो लिएका जम्मै कुरा
सँगालेर मनैभरि तिमीले चाहेका सपनाहरू
म कुरेर पिँढीमा तिम्रै पदचाप
पछ्यौरी फिँजारिरहेकी हुन्छु ।
तिमी आकाशको ब्ल्याकहोल
छिचोलेर नवकिरण बनी आऊ
अब कुना कन्दरामा समेत
एक झुल्का घाम र एक पोका
आशा बनिदेऊ ।
अब तुइनबाट
कुनै पनि फुलका पत्र
सिक्रीका लहरामा परी
चुँडिने छैनन् ।
गोल्टिनको डिब्बामा
चढी अब भने
कोही पनि
पनडुब्बीभित्र निसासिनुपर्ने
जागिर खान जाने छैनन् ।
यतैको पँधेरामा
सङ्लो जून हेरेर
खुशी हुने छन् ।
फाँट, लेक, बेँसी
चारैतिर
सिर्जनाको लहर
उर्लने छ ।
मनमस्तिष्कहरू
ताजा, तन्दुरुस्त र
सक्रिय हुने छन् ।
एउटा स्वच्छ, सभ्य र
स्वर्णिम युगको
अवश्य उदय
हुने छ ।
रिपुमर्दिनी सैनिक महाविद्यालय,
बाँसबारी, काठमाडौँ