प्रतिष्मा बस्नेत धुम्बाराही, काठमाडौकी छात्रा हुन् । उनी सानैदेखि कविता रचनामा रुचि राख्थिन् । रजन बस्नेत र रेणुका बस्नेतकी सुपुत्री प्रतिष्मा अहिले कक्षा – ९ मा अध्ययनरत छिन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘मेरो देश’ शीर्षकको कविता प्रकाशन भएको छ । यस कविताले देशभक्तिको भावना अभिव्यक्त गरेको छ । कविता लोकलयमा संरचित छ ।
-सम्पा.
|
प्रभाती किरण देखिन्छ पहिला विश्वमै सुन्दर
हिमाल उच्च, तराई उर्वर बीचमा पहाड
सुनौलो फाँट तराईमा खुसी फैलाउँदै महिमा
प्रेम र मैत्रीको भाव जाग्ने देशको गरिमा ।। १ ।।
शान्तिको धुन छर्नलाई जन्मे यो देशमा गौतम
वीरको देश भनेर चिन्ने यो देश स्वर्णिम
अमर सहिद गोर्खाली भनी विश्वले पुजेको
प्राकृतिक वरदान पाएको देश गर्वले फुलेको ।। २ ।।
छन् हाम्रो देशमा आँटिला व्यक्ति वीरका निशानी
गोर्खाली भनी विश्वले चिन्ने हौँ हामी नेपाली
जाति र भाषा, धर्म र पेसा संस्कृति अनेक
अनेकतामा एकता राख्ने बानी छ विशेष ।। ३ ।।
विश्वले चिन्ने सगरमाथा छ हाम्रो अटल
झुक्दैनौँ हामी कसैका सामु प्यारो छ नेपाल
जन्मायौं तिमीले भृकुटी, सीता पवित्र चिनारी
छौँ सभ्य हामी र स्वाभिमानी हौँ धीर नेपाली ।। ४ ।।
इतिहास रच्ने साहसी पुर्खा हामीले पाएको
वैरीका सामु हिम्मत राखी युद्धमा उत्रेको
काँधमा राखी नेपाल नयाँ रचना गरौँला
विकास गरी यो देशलाई उज्ज्वल बनाउँला ।। ५ ।।
कान्तिपुर इं. हाइ स्कुल
धुम्बाराही, काठमाडौँ