निर्मोही व्यास नेपाली कविता र निबन्ध परम्पराका उल्लेख्य प्रतिभा हुन् । उनी मूलतः शास्त्रीय लयढाँचाका कविता रचना गर्न रुचाउँछन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘चरैवेति चरैवेति’ शीर्षकको कविता समेटिएको छ । यस कविताले प्रकृतिलाई सर्वोपरी ठानेर प्रकृतिलाई नै मानिसको गुरु मानेको छ । |
१
म हुँ ‘बादल आवारा’ डुलिहिँड्छु जताततै
न छ निश्चित गन्तव्य न त रोकिन्छु नै कतै
खोला अडिन जान्दैन, हावा मान्दैन थामिन
गतिशील र स्वच्छन्द हुनुमै त छ जीवन
२
सिकेको छु यही पाठ, मेरो प्रकृति हो गुरु
मेरो यात्रान्त नै छैन, जता पुग्छु उतै सुरु
सम्पूर्ण धरती मेरै, मेरै हो व्योममण्डल
ऊर्जाको स्रोत हो मेरो मेरै उच्च मनोबल
३
अलमस्ती र उन्मुक्ति मेरा हुन् धमनी-सिरा
सहयात्रीहरू मेरा आँधीबेरी,नदी,चरा
सबै आफ्नै,पराया को ? जहाँ जाऊँ त्यही घर
यायावरहरूनिम्ति वर के ? अनि के पर ?
४
मन लागे हिडेँँ पूर्व, मन लागे म पश्चिम
सेरोफेरो सबै मेरो के उत्तर र दक्षिण !
मनमौजी फिरन्ता म, जात-धर्म “स्वतन्त्र“ हो
“चरैवेति चरैवेति“ मेरो जीवनमन्त्र हो
५
उत्तुङ्ग शैलमालाले मेरै बाटो बथान्दछन्
हर्षातिरेकले सिन्धु स्नेह-ज्वार उराल्दछन्
बरपीपल-चौतारी मैँलाई कुरिबस्तछन्
वन, फाँट र बस्तीले ‘स्वागतम्’ भनिराख्तछन्
६
फूल वर्षाउँछन् द्यौता म हिँड्ने डगरैभरि
नाच्छन् छमछमाएर स्वर्गका किन्नरी-परी
(कण्टकाकीर्ण होस् पन्था अथवा पुष्पसज्जित
आँखा चिम्ली दुवैलाई गर्छु हार्दिक स्वागत)
यात्रारत रहूँ यस्तै अविश्रान्त जुनीभर
अस्ताओस् पनि यात्रामै मेरो जीवन-भास्कर
७
मजा यायावरीमा जो अन्त त्यो पाइने कहाँ ?
परमानन्द यो बुझ्न डुल्नैपर्छ जहाँतहाँ
पिऊँ,पिइरहूँ लाग्ने यात्रामृत घडा-घडा
प्रीतिको मोहनीभन्दा यात्राको मोहनी कडा