आर. आर चौँलागाईंको परिचय साहित्यसागरमा समेटिइसकेको छ । चौँलागाईं बहुमुखी ढङ्गले साहित्य सेवामा समर्पित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘बिरालाहरू कविता बुझ्दैनन्’ शीर्षकको कविता समेटिएको छ । यस कविताले राजनीतिज्ञहरूको बौद्धिकता कमजोर बन्दै गएको पक्ष उजागर गरेको छ । -सम्पा. |
कता र कुन दुलाबाट
मुसाहरू फुत्त आउँछन्
र च्याप्प समातेर निल्न पाइन्छ भनेर
गौँडा ढुकेर बसेका हुन्छन्
कुन घरको कुन भान्छामा
कुँडेभरि दूध तताएर राखेको छ
र घोप्ल्याक्क घोप्ट्याएर
तनतनी पिउन पाइन्छ भनेर
जोखना हेरेर बसेका हुन्छन्
बडो हन्तकाली हुन्छन् बिरालाहरू
बडो परजीवी हुन्छन् बिरालाहरू
तपाईं जतिसुकै मीठो कविता लेख्नोस्
तपाईँ जतिसुकै मीठो कविता सुनाउनोस्
तपाईं जतिसुकै मरिहत्ते गर्नोस्
बिरालाहरूले तपाईँलाई पत्याउँदैनन्
बिरालाहरूले तपाईँको कविता बुझ्दैनन् ।
बिरालाहरू
कोही राष्ट्रपति बनेका हुन्छन्
कोही प्रधानमन्त्री बनेका हुन्छन्
कोही मुख्य मन्त्री बनेका हुन्छन्
कोही मन्त्री बनेका हुन्छन्
कोही मेयर बनेका हुन्छन्
कोही उपमेयर बनेका हुन्छन्
कोही वडा अध्यक्ष बनेका हुन्छन्
हैसियत-हैसियतका हुन्छन् बिरालाहरू
रङ-रङका हुन्छन् बिरालाहरू
उनीहरूलाई देश भाँडमा जाओस् मतलब हुँदैन
उनीहरूलाई देशको इज्जत माटोमा मिलोस्
सरोकार हुँदैन
उनीहरू जोसँग पनि हात मिलाउँछन्
उनीहरू जोसँग पनि अँगालो मार्छन्
उनीहरू जोसँग पनि गाला जोड्छन्
उनीहरू जोसँग पनि ङिच्च हाँस्छन्
प्रोटोकल कुन चराको नाम हो उनीहरूलाई थाहा हुँदैन
अथवा थाहा भए पनि होश हवास हुँदैन
तपाईँ जतिसुकै अर्ती दिनोस्
तपाईँ जतिसुकै पुराण फलाक्नोस्
तपाईँ जतिसुकै खबरदारी गर्नोस्
बिरालाहरूले तपाईँलाई पत्याउँदैनन्
बिरालाहरूले तपाईँको कविता बुझ्दैनन् ।
बिरालाहरू अहिले देशाटनमा गएका छन्
जन्ती बोकेर गएका छन्
अब केके दिएर आउने हुन् थाहा छैन
अब केके लिएर आउने हुन् थाहा छैन
सुन दिएर घुन लिएर आउने हुन् कि !
हिरा दिएर झुसिल्किरा लिएर आउने हुन् कि !
चामल दिएर भूस लिएर आउने हुन् कि !
तराई दिएर कराई लिएर आउने हुन् कि !
तपाईँ जतिसुकै टाउको फोर्नोस्
तपाईँ जतिसुकै आँसु झार्नोस्
तपाईँ जतिसुकै पीर गर्नोस्
बिरालाहरूले तपाईँलाई पत्याउँदैनन्
बिरालाहरूले तपाईँको कविता बुझ्दैनन् ।