वेदकुमारी न्यौपाने (२०१४ भाद्र २०, सुपुत्री : गुरुदत्त लोहनी र कौशल्यादेवी लोहनी) नेपाली साहित्यकी बहुमुखी प्रतिभा हुन् । उनी कविता, आख्यान र नाट्य विधामा कलम चलाउने प्रतिभा हुन् । उनको पूर्णिमाको जून (२०३६) कवितासङ्ग्रहबाट प्रकाशन यात्रा आरम्भ भएको हो । उनका एउटा कथाको अन्त्य (२०५३), विचलित वर्तमान (२०५८) नाटकका साथै आआफ्नो कर्तव्य बालनाटक र एकाङ्कीहरू, प्रायोजित (२०७९) रेडियो नाटक सङ्ग्रह, पलास्टिक सर्जरी (२०७९), कुल्चिएका पात्रहरू जस्ता नाट्य विधा केन्द्रित कृति प्रकाशित छन् । न्यौपानेका आख्यानतर्फ अर्को एउटा विद्रोह (२०५२) कथासङ्ग्रह, धुवाँ (२०५७) उपन्यास, आकांक्षाका सीमाहरू (२०६७) कथा सङ्ग्रह जस्ता कृति प्रकाशित छन् । उनका गीति एल्बम र अन्य कृति पनि प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा न्यौपानेको एउटा मुक्तक रचना समेटिएको छ । यस रचनाले सहरको हिजो र आजको अवस्थालाई सङ्केत गरेको छ । -सम्पा. |
बालापनमा खेल्दै हिंड्ने राम्रो एउटा ठाउँ थियो
स्वर्ग भन्दा पनि राम्रो प्यारो एउटा गाउँ थियो
विकासको धुलो धुवाँ कुइरीमण्डल भए पछि
अहिले अर्कै भएछ ऊ पहिले अर्कै नाउँ थियो ।