रामगोपाल आशुतोष युवा पुस्ताका सशक्त गद्य कवि हुन् । उनका रचना निकै विम्बात्मक हुन्छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘भायरल मनोरोग’ शीर्षकको कविता समेटिएको छ । यस कविताले प्रविधिसँगै भित्रिएको अराजकता र क्षणिक लाभका बारे व्यङ्ग्य गरेको छ । -सम्पा. |
यो
क्यामेरा युग हो
जे देख्छ, त्यही किन्छ ।
सब बजारमा छन्
– बेच्नेहरू
– किन्नेहरू
– मोलमोलाइ गर्नेहरू
– उत्पादक
– बिचौलिया
– लगानीकर्ताहरू ।
भ्याइनभ्याइ छ
– युट्युब
– अनलाइन
– टिकटक
– इन्स्टाग्राम
– बिगोलाइभहरूलाई !
सबैलाई चाहिएको छ
दर्शकहरू
फलोअरहरू
टिआरपी
दिल फेंक आशिकहरू
पैसा फेक धनाढ्यहरू
बजारु समाजमा
बेचिने भनेको
भ्रम हो
किन्नेहरूले किन्ने पनि भ्रम हो ।
पुरस्कार, मञ्च, सम्मानले
जातको
लिङ्ग
क्षेत्रीयता
नश्ललाई ऐना देखाइरहेछ
सत्य माथि बसेर
मुसुमुसु हाँसिरहन्छ ।
भक्तपुर, नेपाल ।