निर्मोही व्यास नेपाली कविता परम्परामा शास्त्रीय लयढाँचाका विशिष्ट कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘लेख्ने होइन स्रष्टाले कसैलाई रिझाउन’ शीर्षकको कविता समेटिएको छ । यस कविताले लेखकीय स्वतन्त्रताका पक्षमा वकालत गरेको छ ।
-सम्पा. |
१
आलोचक ! दया लाग्छ देख्ता तिम्रो चुरीफुरी
“नलेख् त्यस्तो र लेख् यस्तो” आज्ञा दिन्छौ चढी धुरी
विवेक-ब्रह्मले मेरो जस्तो लेख्न लगाउँछ
त्यस्तै लेख्छु म,छातीमा किन तिम्रो बिझाउँछ ?
२
रच्छु काव्यिक संसार जगमाथि यथार्थको
सिँगार्छु कल्पनाले र कलाले भाँति-भाँतिको
विचार-जलले सिँच्छु चेतना-बीज छर्दछु
भाव-संवेदनाद्वारा त्यसमा प्राण भर्दछु
३
जगत्-जीवन भोगेर गर्छु जे अनुभूति म
घोली संवेदनामा त्यै सृजनामा उतार्छु म
लेख्ने होइन स्रष्टाले कसैलाई रिझाउन
लेख्ने त हो स्वयंलाई विरेचित तुल्याउन
४
जहाँ संवेदना छैन,छैन भावुकता जहाँ
त्यो अनुर्वर पाखोमा सिर्जना उम्रिने कहाँ ?
छैन जोसङ्ग स्रष्टाको बुझ्ने संवेदना हिया
कृतिमाथि हुँदैहुन्न तीबाट कहिल्यै नियाँ
५
तिमी स्वतन्त्र छौ मेरा रचना नरुचाउन
नीर-क्षीरविवेकी भै सक्छौ धज्जी उडाउन
किन्तु छैन तिमीलाई अधिकार अह्राउन
स्रष्टा पो हुँ, कसैको म खेताला दास होइन
००
नीरक्षीरविवेकी = पानी-दूध छुट्याउने ।