सीता भट्टराई को परिचय साहित्यसागरमा समेटिइसकेको छ । भट्टराईको कलम कविता सिर्जना र समीक्षा दुवै क्षेत्रमा समानान्तर चलिरहेको छ । यहाँ भट्टराईको ‘उहीँ देश हाँस्छ’ शीर्षकको देशभक्तिपूर्ण कविता समेटिएको छ ।
-सम्पा. |
जहाँ एकताको बजेको छ बाजा
उहाँ शान्ति हाँस्दै रमेको छ सारा
जहाँ हाँस्छ मान्छे उहीँ हाँस्छ धर्ती
बसूँ दूर हेर्दै मिलोस् लाग्छ सृष्टि !
बसी सूर्य टाढा जहाँ घाम दिन्छन्
बसी चन्द्र टाढा जहाँ शीत छर्छन्
विनाघाम सारा उज्यालो हुँदैन
जहाँ ज्ञान हाँस्छन् अँध्यारो हुँदैन ।
अझै ज्ञान खोजौँ मिलुन् सृष्टि सारा
अझै कर्म रोजौँ मिलुन् शान्ति आभा
विनाकर्म धर्ती उज्यालो कहाँ छ ?
विनाज्ञान मान्छे पुजेको कहाँ छ ?
छरुन् ज्ञान ज्ञाता सदा यो धरामा
गरुन् कर्म राम्रा यही कन्दरामा
मिलुन् शान्ति सारा मिलुन् शुद्ध कर्म
रमुन् एकतामा सबै कर्म – मर्म
विनाकर्म पूजा नगर्नू कसैको
विनाअर्थ केही नबोल्नू सदा यो
जहाँ ज्ञान मिल्ला उहीँ शान्ति मिल्छ
जहाँ कर्म हाँस्ला उहीँ देश हाँस्छ !